२९ आश्विन २०८३, बिहिबार

रुपन्देही: एमालेमा केन्द्रबिन्दू, राप्रपामा धक्का

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rupandehi-UML

जेठ २१ गते बुटवलमा रहेको पुष्पलाल स्मृति भवनमा अलग्गै माहोल थियो । एमालेको हँसिया र हतौडा अंकित झण्डा फरफराइरहेको सो भवनको सभाहलमा राप्रपाका नेताहरुको उपस्थितिले सबैमा कौतुहलता जन्माएको थियो । एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा भाग लिन आएका थिए ती नेताहरु । रुपन्देहीको निर्वाचन क्षेत्र नं १ का राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई हस्तीहरु सहित दर्जनौं कार्यकर्ताले एमाले प्रवेशको घोषणा गर्न पत्रकार सम्मेलन आयोजना गरेका रहेछन् । एमाले प्रचार विभाग प्रमुख समेत रहेका जिल्ला कमिटी सदस्य तेजेन्द्र केसी, प्रचार विभाग सचिव दिनेश पाण्डे र प्रेस चौतारीका जिल्ला अध्यक्ष अमृत गिरीको निम्तोमा पुष्पलाल स्मृति भवनको सभाहलमा प्रचण्ड गर्मीको पर्वाह नगरी पत्रकारहरु पनि हलहलमा खचाखच भरिएका थिए ।

पुष्पलाल स्मृति भवन बुटवलमा भएको पत्रकार सम्मेलन एमाले जिल्ला प्रचार विभागले आयोजना ग¥यो । पत्रकार सम्मेलनमा राप्रपाका केन्द्रिय संगठन विभागका सदस्य ताहिर अलि र जिल्ला प्रवक्ता झिल्लुप्रसाद न्यौपानेले ३ वटा सन्देश प्रवाहित गरे ।

पहिलोः आजसम्मका चुनावमा राम्रै संगठन भएर पनि सभासद् जिताउन नसकेको रुपन्देही १ को निर्वाचनमा अबको राजनीतिक मोड एमालेका हातमा जानेछ ।

दोश्रो: राष्ट्रियतालाई बलियो बनाउन नेकपा एमाले जस्तो देशव्यापी सञ्जाल र राष्ट्रियताबारे स्पष्ट धारणा राख्ने पार्टीलाई बलियो बनाउनुपर्छ ।

तेस्रो: राजनीतिक दलका कार्यकर्ता व्यक्तिवादी भएर अमुक नेताका खल्तीका कार्यकर्ता भएर बस्नु हुँदैन । संस्थागत र कमिटी प्रणाली भएको पार्टीमा, एजेण्डा र रुपान्तरणका खाका भएको पार्टीमा लाग्दा नै देशको भलो हुन्छ ।

naresh-kc
नरेश केसी

पत्रकार सम्मेलनमा राप्रपाका संस्थापक नेता समेत रहेका अलीले भने, “हामी हिजोसम्म क्षेत्र नं १ मा राप्रपाका भन्दा बढी दिपक बोहराका मान्छे भएर चिनियौं । अब त्यो पहिचान बदलिनेछ । हामी देशको विकास र परिवर्तनको स्पष्ट खाका भएको पार्टीको खोजीमा थियौँ । हामी मध्ये २ विकल्प थिए– नेपाली कांग्रेस र एमाले । यी दुईमा राष्ट्रियता र लोकतन्त्रको अभ्यासमा एमालेसँग हाम्रो बढी कुरा मिल्ने देखेँ । ”

अर्का नेता झिल्लुप्रसाद न्यौपानेले आफनो विगत सम्झिदै भने “मैले अप्ठेरो बेलामा यही पार्टीमा पसिना बगाएकोले एमालेमा आउनका लागि सहज भयो । राप्रपाभित्र पनि हामी राष्ट्रवादी शक्ति हो भनेर लागेका हौँ । तर पछिल्लो चरणमा कमजोर सांगठनिक चरित्र भएको पार्टीले राष्ट्रको नेतृत्व र विकासको जिम्मा लिन सक्दैन । यसर्थ राष्ट्रियताका सवालमा हामीसँग विचार मिल्ने पाटी एमाले रह्यो । ”

साना पार्टीहरुले वैचारिक तहमा केही योगदान गर्लान् तर सांगठनिक रुपमा देशलाई आडभरोसा दिन सक्दैनन । गत निर्वाचनमा पनि साना पार्टीहरु खासगरी ठूला पार्टीका उपकेन्द्र जस्ता मात्र देखिँदै आएका छन् र अलग पहिचान गुमाएका छन् । साना पार्टीका कार्यकर्ताहरु स्थानिय तहमा निराश देखिनुमा यी नै कारण छन ।

राप्रपामा भुकम्प गयो

रुपन्देहीमा राप्रपाको संगठन भएको क्षेत्र भनेकै क्षेत्र नं १ हो । क्षेत्र नं १ का सम्पूर्ण जिल्ला सदस्य र गाउँ कमिटी अध्यक्षहरु समेत एमाले प्रवेशको घोषणा गरेपछि मुलतः रुपन्देहीमा राप्रपा सकियो भन्दा हुन्थ्यो । किनकी देशव्यापी रुपमा राप्रपाले सम्मानजक मत प्राप्त गर्न नसक्दा क्षेत्र नं १ मा यो पार्टी तेश्रो र चौथो स्थानमा रहँदै आएको थियो । गत निर्वाचनमा पनि राप्रपाले ५६ सय मत पाएको थियो । यसका अतिरिक्त क्षेत्र नम्बर २ का जिल्ला सदस्य दिलीप यादव पनि एमाले प्रवेश गरेका छन । दिलीप यादव भैरहवा क्षेत्रमा राप्रपाका खम्बा मानिन्थे । उनी पूर्व जनप्रतिनिधि पनि हुन् । राप्रपाका नेताहरुको एमाले प्रवेशसँगै रुपन्देहीको राजनितीमा तरंग ल्याएको छ । जिल्लाभर नै राप्रपाभित्र मात्र नभएर काँग्रेसभित्र पनि भुँईचालो गएको छ । यही निर्वाचन क्षेत्र कायम रहेमा यो प्रवेशले झिनो मतले पराजित भएका ३ वटै क्षेत्रमा बलियो प्रभाव जनाउनेछ । यसबाहेक मधेसी जनअधिकार फोरमका जिल्ला सदस्य जयप्रकाश यादव, समता पार्टीका जिल्ला अध्यक्ष टेकबहादुर थापा प्रवेशले थप बल मिलेको अवस्था छ । यसैबीचमा देवदहमा करिब १ सय संगठित तहका एमाओवादी कार्यकर्ताहरु एमालेमा आवद्ध भइसकेका थिए ।

Rupandehi-UML1

अन्य पार्टीका प्रभावशाली नेताहरु एमालेमा प्रवेश गरिरहँदा पार्टीका नेताहरुले सभासद, गाविस र मेयर उपमेयरका उम्मेदवारी आश्वासनले मात्र सम्भव भएको हो भनेर अन्य विपक्षी पार्टीबाट अनावश्यक हल्ला समेत मच्चाइएको छ । गत संविधानसभा निर्वाचनमा एमाले स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा २ सय ४ मतको अन्तरले पराजित भएका थिए । यद्यपि एमालेले क्षेत्र नम्बर १ मा ११ हजार भन्दा बढी मत लिएर पहिलो पार्टी भएको थियो । राप्रपाका नेताहरुलाई एमाले प्रवेश गराउने महत्वपूर्ण काममा एमाले जिल्ला सचिवालय सदस्य सिद्धिचरण भट्टराईले मुख्य भूमिका खेलेका थिए ।

यसैगरी पार्टीका उपमहासचिव घनश्याम भुसाल, नेता बाबुराम चौधरी, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज लिला गिरी, जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठ, एमालेका पूर्वकेन्द्रीय सदस्य नेत्र पन्थी, अन्चल सचिव कार्यलय गोपाल भट्टराई, जिल्ला सल्लाहकार भरतकुमार पोखरेल, जिल्ला सदस्य सन्जय गुप्ता, जिल्ला सदस्य तथा क्षेत्रीय इन्चार्ज धुव्र खरेल, क्षेत्रीय सहइन्चार्ज शैलेन्द्र उपाध्याय, क्षेत्रीय अध्यक्ष निलकण्ठ पौडेल, इलाका अध्यक्ष मातृका यादवको पनि भूमिका देखिएको छ ।

३० गते पराकम्पन

रुपन्देहीमा राप्रपाका नेताहरु एमाले प्रवेश गरिरहँदा यो लहर बेगले चलेको छ । अलि, न्यौपाने, यादव पार्टी प्रवेश गर्दा पहिलो झट्का लागेको राप्रपालाई ३० गते अर्को झट्का लाग्ने एमाले जिल्ला सदस्य सन्जय गुप्ता बताउँछन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, सचिव विष्णु पौडेल, केन्द्रीय सदस्य तथा लुम्बिनी अन्चल सहइन्चार्ज बैजनाथ चौधरी लगायतको उपस्थितिमा राप्रपाका स्थानिय कार्यकताहरु र अन्य पार्टीका गरी सयौँ एमाले प्रवेश गर्ने कार्यक्रम तय भएको छ । धकधईमा हुने कार्यक्रमको चाँजोपाँजो मिलाउन एमाले जिल्ला र क्षेत्रीय कमिटी अहिले दिनरात खटिएर लागेको छ ।

एमाले भित्र्याउन को-को खटिए ?

ताहिर, झिल्लु, दिलीपसहितका नेताहरु पार्टी प्रवेश गर्दाको पृष्ठभूमिलाई नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा देवदह नगर कमिटी इन्चार्ज सिद्धीचरण भट्टराईले यो सम्वाददातासंग सविस्तार यसरी गरेका थिएः 

विभिन्न पटकका भेटमा बेला मौकामा राजनीतिक समझदारीमा सहयोग आदान प्रदान भइरहने हुनाले झिल्लु न्यौपाने र ताहिर अलिसँग एमालेको सम्पर्क जारी थियो ।

धेरैपटक कुरा गर्ने क्रम चलिरहँदा मैले एमाले जिल्ला सचिवालय सदस्यको हैसियतले झिल्लुजीसँग घरमै गएर कुरा राखेँ । राजनीतिक, वैचारिक र सांगठनिक सवालहरुमा पनि कुरा भयो । व्यक्तिगत प्रवेश होइन्, करिब करिब संस्थागत प्रवेशको वातावरण बनाउन मैले आग्रह गरेँ । यसो भएमा मैले जिल्ला अध्यक्षसंग कुरा राख्छु भनेँ । सोही बमोजिम अर्को दिन जिल्ला अध्यक्ष भोजप्रसाद, झिल्लु र म बसीे समग्र क्षेत्र नं १ को अवस्थाको आंकलन ग¥यौं । त्यसपछि ताहिर अलि लगायतका जिल्ला नेतासंग कुरा अगाडि बढाउने कुरा भयो । अर्कोदिन बिहान संगै खाना खानेगरी भेट्ने निधो भयो । सोहीबमोजिम अर्कोदिन कुरा भयो । ताहिरसंग मैले यसअघि सामान्य चिनजान बाहेक गहिरो सम्वन्ध त थिएन्, तर पहिलो भेटमा उहाँले आफूलाई स्पष्ट र कुरा नचपाई बोल्ने व्यक्तित्वको रुपमा मेरो मनमा छाप पार्नुभयो । जसले गर्दा मलाई कुरा गर्न अलि सहज भयो ।

बैचारिक र राजनीतिक रुपमा करिब करिब झिल्लुजीले आफ्ना कुरा राखेपछि मैले रुपन्देहीको एमालेलाई बलियो बनाउन मधेसी, अल्पसंख्यक समुदायको जुझारु नेताको आवश्यकता छ, त्यो आवश्यकता मधेसी तथा अल्पसंख्यक समुदायमा राम्रो पकड भएका तपाईँहरु जस्ता व्यक्तित्वबाट पूरा गर्न सकिने र एमालेको नीतिलाई मधेसी र अल्पसख्यक लगायत मधेसमा स्थापित गर्न बल पुग्छ भन्ने धारणा राखँे । उहाँले अन्तिममा एमालेमा आएपछि हाम्रा कार्यकर्ताले हिनताबोध गर्ने, अघि र पछिको कुरा गर्ने, कार्यकारी जिम्मेवारीहरुले त्यसलाई सम्वोधन गर्ने बिषयमा भएका आशंका बारे पनि कुरा राख्नुभयो । यो आशंका मेटन एमाले जिल्ला अध्यक्ष भोजप्रसादसँग घरमै भेटने चाँजोपाँजो मिलाएँ । अर्कोदिन पुन अध्यक्ष भोजप्रसादको घरमा छोटो बैठक बसी क्षेत्र नं १ का सबै कार्यकर्तालाई उचित जिम्मेवारीसहित पार्टी कामको जिम्मा दिनका लागि जिल्लाको बैठकले संयुक्त कार्यदल बनाउने समझदारी पनि बन्यो । त्यो बिषय लगायत गैरबाम पार्टीबाट आएका कार्यकर्ता व्यवस्थापनलाई कसरी बैधानिक रुपमा सहज र सरल बनाउने भन्ने बिषय केन्द्रीय नेतृत्वसँग पनि जोडिएकोले रुपन्देही इन्चार्ज लिला गिरी, जिल्ला कमिटीका क्षेत्रिय प्रतिनिधि ध्रुव खरेलसहित ताहिर, झिल्लु र अनिरुद्र चौधरीसँग समेत बुटवलको एउटा अफिसमा बसी बिधानसम्मत व्यवस्थापन गरी बाटो फुकाउने जिम्मेवारी नेताहरुलाई दिएर उठ्यौं । लीलाले विगतका जिल्ला कमिटीले गरेका यस्ता प्रयासको पृष्ठभूमि कोटयाउँदै आन्दोलन र अभियानमा रहेसम्म तपाईहरुमाथि पार्टीले न्याय गरिरहने भनेर आश्वस्त पार्नुभयो ।

यसपछि क्षेत्र नं १ को २ नं इलाका अधिवेशनमा प्रमुख अतिथि उपमहासचिव घनश्याम भुसाल आउने कार्यक्रममा राप्रपाको नेतृत्व तहको टिमसँग रामनरेश उच्च माविमा एक अन्तिम वार्ता भयो । यसैदिन इलाका अधिवेशनका क्षेत्रिय कमिटी अध्यक्ष निलकण्ठ पौडेलको अगुवाईमा करिब २५० विभिन्न पार्टी परित्याग गरी आएका कार्यकर्तालाई एमाले प्रवेश गराउने कार्यक्रम तय भईसकेको थियो । यसले एक लहरको शुरुवात ग¥यो । त्यसपछि इलाका अधिवेशनको अतिथि वक्ताका रुपमा रहेका अलिले एमालेमा प्रवेश गर्ने संकेतयुक्त भाषण समेत गरे । भित्र–भित्र भइरहेको यो प्रयास असफल हुन्छ कि भन्ने चिन्ता हामीलाई थियो । बिषय शुरु गर्ने गाँठो नपारिँदै सकिने विगतमा भएका घटनाबााट म परिचित भएकोले यसलाई होसियारीपूर्वक नै नेतृत्व गरिएको थियो । पछि राप्रपा महामन्त्री दिपक बोहरा, सुनिल थापा, पशुपति सम्सेरबाट तल्लो तहमा दबाब बढ्यो भन्ने सुन्नमा आएपछि धकधईमा राप्रपाका आठ गाविसका अध्यक्ष, जिल्ला नेतासहित एक अन्तरक्रिया भयो । त्यो बैठकले पत्रकार सम्मेलन गरी तत्काल राप्रपामा नरहेको जानकारी दिने निर्णय गर्‍यो । उहाँले पनि त्यसको व्यवस्थापन गर्न मलाई अनुमति दिएपछि त्यसको तयारी गरी पत्रकार सम्मेलन भयो र उहाँहरु एमालेमा प्रवेश गर्ने उद्घोष गर्नुभयो ।

पत्रकार सम्मेलन अघि जिल्ला पार्टीले संक्षिप्त स्वागत कार्यक्रम राख्यो । त्यही कार्यक्रममा पार्टी कार्यालयले बनाएको जिल्ला सचिव तुलसी चौधरीको संयोजकत्वमा जिल्ला कमिटीको तर्फबाट र नयाँ प्रवेशी नेताहरुसहितको संयुक्त कार्यदल निर्माण समेत गरी कार्यकर्ता व्यवस्थापन र एमाले प्रवेश घोषणासभा आयोजना गर्ने जिम्मेवारी प्रदान गरियो ।

र अन्त्यमा, उहाँहरुलाई एमाले प्रवेश गराउने एक पहलकर्ताको नाताले म हरेक छलफलमा सहभागी छु र कसैलाई पद प्रतिष्ठाको लालच दिएर गराएको पार्टी प्रवेश दिगो नहुने कुरा पक्का भएकोले हामीले त्यस्ता कुनै समझदारी गरेका छैनौँ, उहाँहरु सबै निष्ठापूर्वक एमालेको नीति, विचार र सिद्धान्त मन पराएर एमाले प्रवेश गर्नु भएको छ, यॉे प्रवेश अभियानमा क्षेत्र, जिल्ला र केन्द्रका नेता समेतको योगदान छ । विपक्षीले चलाउने तुच्छ भ्रमको कुनै अर्थ छैन । तर पनि राजनीतिमा सम्भावना र अवसर अगाडि पछाडि हुनु स्वभाविक छ, जो सक्रिय छ, त्यसले स्वभाविक रुपमै आफुलाई अस्तित्वमा र शक्तिमा राख्नेछ । यसका अतिरिक्त एमाले पार्टी भित्र नयाँ कार्यकर्ताको व्यवस्थित प्रशिक्षण आवश्यक छ भने पुराना कार्यकर्ता संगको सहकार्यले उनिहरुमा आत्मियतासहितको कमरेडली व्यवहार गर्नुपर्नेछ । पुराना साथीहरुले हिजो अलग विचार बोकेर अलग पार्टीमा भएर गरिएका राजनीतिक व्यवहारको टिकाटिप्पणी भन्दा पनि नयाँ साथीहरुको वैचारिक र व्यवहारिक रुपान्तरणमा बढी ध्यान दिनु जरुरी छ ।