काठमाडौं, २८ जेठ । नेपाल प्रहरी विरुद्ध सशस्त्र प्रहरीको फेसबुक पेजमार्फत रेडिमेड समाचार सेयर गरेको विषयमा नेपाल प्रहरीका आइजीपी उपेन्द्रकान्त अर्यालले गृहमन्त्रीसमक्ष गुनासो गरेपछि सशस्त्र प्रहरीका आईजीपी कोषराज वन्त हच्किएका छन् ।
कारबाहीमा पर्ने अवस्था सृजना भएपछि वन्तले आफ्ना निकटहरुमार्फत प्रहरीविरुद्ध गरेको समाचारको लिंकलाई फेसबुकबाट हटाउन लगाएका छन् ।
वन्तलाई अर्को संगठनविरुद्ध लागेको भन्दै गृहमन्त्रालयले स्पष्टिकरण समेत मागेको थियो भने प्रधानमन्त्री कार्यालयबाट चेतावनी दिइएको यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीलाई खुशी बनाएर गोप्य रुपमा आफू अनुकुलको निर्णय गर्दै आएको सशस्त्र प्रहरी बल पछिल्लो समय मर्यादा नाघेर पक्राउ पुर्जीको अधिकार हात पार्न लबिङमा लाग्दै आएको छ ।
जसको शुरुवातमा वन्तले रेडिमेड समाचार पत्रिकामा छपाउनेदेखि फेसबुकमा नेपाल प्रहरीविरुद्ध समेत अभियान गरेका थिए ।
सोही विषयलाई लिएर गृह मन्त्रालयले सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तलाई स्पष्टिकरण सोधेका छन् । वन्तले सशस्त्र प्रहरीको फेसबुक पेजबाट केही दैनिक पत्रपत्रिकाहरुमा नेपाल प्रहरीको विरोध र सशस्त्र प्रहरीलाई नियमावली संशोधनमा अनुकुल हुने गरी छापिएको रेडिमेड समाचारलाई सेयर गर्न लगाएपछि अर्यालले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर विरोध जनाएका थिए ।
‘अवैध हातहतियारलगायतका आपराधिक कार्यमा संलग्न व्यक्तिलाई सशस्त्र प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाउँदा कानुनी अस्पष्टताले अभियुक्तले सफाई पाउने अवस्था अब अन्त्य हुने’ तर्क राखेर रेडिमेड समाचार छपाइएको थियो ।
त्यस्तै सशस्त्र प्रहरी नियमावलीमा संशोधन भई सशस्त्र प्रहरीले पक्राउ पुर्जी जारी गर्दा सरकारवादी मुद्दामा सरकार पक्ष बलियो हुने बुझाई सरकारको रहेको तर्क पनि पेश गरिएको थियो ।















प्रतिक्रिया