३ कार्तिक २०८३, मंगलबार

अहिले पाँच पदमा सहमति, पछि जसले सक्छ उसैले लैजान्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Meeting-Three Partyकाठमाडौं, २८ जेठ । प्रमुख चार दलबीच गत सोमबार भएको सहमतिको नवौ बुँदामा संविधान जारी भएपछि राज्यका प्रमुख पाँच ठूला पदमा निर्वाचन हुने उल्लेख छ ।

ती पाँच मुख्य पद हुन्– राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख ।

१६ बुँदे सहमतिले संविधान जारी हुने आधार तयार गरेसँगै ती पाँच पदमा कसरी शक्ति बाँडफाँट हुने हो ? राजनीतिक वृत्तमा त्यसको चासो बढ्न थालेको छ ।

‘फास्ट ट्रयाक’ अपनाएर असारभित्रै संविधान जारी गर्ने सहमति दलहरुबीच भएको कान्तिपुर दैनिकले छापेको छ ।

संविधान जारी भए लगत्तै रुपान्तरित संसदमा ती पदको निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

ती पाँच पदबारे अहिले नै कसले कसरी लिने भन्ने चाहिँ टुंगिएको छैन ।

‘हामीले अहिले संविधानकै बिषयलाई प्राथमिकता दिएका छौ, शक्ति बाँडफाँटबारे केही कुराकानी भएको छ,’ दलीय छलफलमा संलग्न एमाले उपमहासचिव विष्णु पौडेलले भने, ‘संविधान जारी भएपछिमात्र त्यसबारेमा कुराकानी हुन्छ ।’

दलीय छलफलमा राष्ट्रिय सहमतिको सरकार बनाउने कुराकानी धेरै चलेको थियो ।

तर संविधान जारी भएपछिमात्र बनाउनेमा समझदारी भएपछि अहिले नै भावी सत्ता समिकरण, दलीय बाँडफाँटको धेरै लेखाजोखा नभएको नेताहरुको दाबी छ ।