६ श्रावण २०८३, बुधबार

भालुवाङ बस घटनाका साक्षीको बयान- २ सय जोगाउन खोज्दा १२ जनाको ज्यान गयो

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हिजो साँझ १०ः२० मा नेपालगञ्जबाट काठमाडौं आइरहेको रात्रीबस भालुवाङ पुलबाट हेर्दा हेर्दै नदीमा खस्यो । दुर्घटनाका कारण १२ जनाको घटनास्थल मै मृत्यु भएको छ भने बाँकी २५ जना विभिन्न अस्पतालहरुमा उपचाररत छन् । यो कहालीलाग्दो दुर्घटनाको म एक प्रत्यक्षदर्शी साक्षी थिएँ ।

पौडेल वंश महासंघको पुस २७ र २८ गते कोहलपुरमा जारी दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्र प्रतिवेदन वाचन र लुम्बिनीलाई परेको केन्द्रीय सदस्यको समूहगत छलफलबाट नाम टुंगो लगाइसकेपछि म खुसुक्क कसैलाई जानकारी नगराई घर फर्किन त्यहाँबाट निस्किएँ । कोहलपुर बसपार्क आइपुग्दा करिब ६ः४५ भइसकेको थियो । माउन्टेन क्विन भे ३९१२ र ३९१३ नाम गरेको गाडी अग्रभागमै मान्छे चढाइरहेको थियो । मैले करिब १८० किमि टाढा लाने हो ? भनें । सहयोगीले हुन्छ भने । अमिलियासम्म उभिन पाउनुहुन्छ अनि तुल्सीपुर जाने झरेपछि जानुहोला भने । म अटेसमटेस गर्दै गाडीभित्र छिरें । मान्छे करिब १०/१२ जना त उभिएका थिए । उनीहरुलाई सोधें- कहाँ जाने ? धेरै जसोले आफूहरु भालुवाङ जाने भने ।

सायद माघे संक्रान्तिमा स्वर्गद्वारी जानेको भीड थियो होला । मलाई डेढ सय किमी बाटो उभिएर जान सक्दिन भन्ने लाग्यो अनि गाडीबाट झरें। सोही कम्पनीको अर्को गाडी ३९१३ मा चढ्न खोजें । त्यसमा पनि यात्रु भरीभराउ नै थियो । मैले यो रातिमा घर जाँदा पनि अबेर हुन्छ बरु राति यहीं होटलमा सुत्छु भन्दै गाडीबाट झरेर होटल कता होलान् भन्दै के हिँडेको थिए, लौ आउनुस सिट खाली छन् कहाँ जाने भन्दै बागेश्वरी कम्पनीको भे ४००९ को गाडी आयो । म त्यसैमा चढें ।

माउन्टेन क्विन र बागेश्वरीका यी तीन गाडी अघि-पछि हुँदै आए । राति १० बजे लालमटिया नजिक रहेको नमस्ते होटेलमा उक्त बसले पहिले अनि हामीले पछि खाना खायौँ । हामीले खाएर बाहिर निस्कँदा निस्कँदै गर्दा गाडी स्टार्ट गरेर हिड्यो । स्वर्गद्वारी जाने भालुवाङका यात्रु अलि बढी भएकोले तिनीहरुलाई हतार हतार झार्दै गरेको बखत प्रहरी जवान नजिकै आउँदै थिए । चालकले प्रहरी बिटमा सवारी साधन दर्ता गर्दा जरिवानामा परिन्छ भन्ने डरले दर्ता नगराई बसलाई अघि बढाए ।

हामी चढेको गाडीले झरेर दर्ता गरायो । अनि हाम्रो सहयोगीलाई अघिल्लो गाडीले दर्ता नगराई किन दौडे होला भनेर पुलिसले सोधेका थिए उनले अलि धेरै मान्छे बोकेकोले जरिवानाको डर हुन सक्दछ मात्र के भनेका थिए, पूर्व साइडमा कुँदेको गाडी भालुवाङ पश्चिमतर्फको पुलको करिब २० मिटर बार भाँच्दै नदीमा खसेर उत्तानो पर्‍यो । प्रहरी बिट २५/३० मिटरमै थियो । गाडी खसेपछि हामी पनि त्यही ठाउँमा झर्‍यौं। गाडीको अग्रभाग पानीमा थियो । ड्राइभर लालबहादुर सुनार र खलासीलाई प्रहरीले सजिलै उद्दार गर्‍यो ।

पाँच जना घाइतेहरुलाई सशस्त्रले १५ मिनेटमा निकाले । ५ जनाको मृत्यु भएको भनी प्रहरीले भन्यो । जेसीबी पनि आयो । जेसीबीले पानीको बहाव परिवर्तन गराउन थाल्यो । मैले आधा घण्टा हेरेपछि यो घटनाको बारे केही मिडियालाई समाचार दिएँ । मेरो मोबाइल स्विच अफ पनि भयो ।

राति १ बजे कपिलवस्तुस्थित घर आइपुगें। रातभर निद्रा लागेन । गत भदौमा पनि बुद्ध एअरको इन्जिन बिग्रेर धन्यै कालको मुखबाट फर्किनु परेको थियो । गत राति पनि धन्यै ..! आङ्ग सिरिङ्ग भयो । स्याङ्जा पुतलीबजार १ का शशिधर अधिकारीको उक्त बस काम नै नलाग्ने गरी कच्याककुचुक भएको छ । मलाई लाग्छ, प्रहरीलाई जरिवाना बुझाउँदा २०० रुपैयाँ बचाउने लोभले दर्जन व्यक्तिको ज्यान र करोडौंको नोक्सान भएको छ ।