१० श्रावण २०८३, आइतबार

जनतालाई अधिकार दिन नचाहनेहरूले संघीयताको विरोध गरिरहेका छन् : पृथ्वीसुब्बा गुरुङ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनतालाई अधिकार दिन नचाहनेहरूले संघीयताको विरोध गरिरहेको बताएका छन् ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानीको पामचोकस्थित सरस्वती आधारभूत विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै गण्डकीका पूर्वमुख्यमन्त्रीसमेत रहेका गुरुङले अहिले केही मानिसहरू संघीयताको विरोधमा लागेका भन्दै आलोचना गरे । ‘जनता अधिकार सम्पन्न भएको देख्न नचाहने प्रतिगामी शक्तिहरू, अहंकारी शक्तिहरू, जनतालाई कमजोर बनाएर आफ्नो हैकम चलाउन चाहने शक्तिहरूले आज संघीयता चाहिँदैन भनिरहेका छन्’, उनले भने ।

संघीय शासन प्रणाली जनताको लागि सबैभन्दा राम्रो शासन व्यवस्था भएको उनले दाबी गरे । संसारको भूगोलको ४५ प्रतिशत भूगोलमा आज संघीय शासन प्रणाली रहेको उनले बताए । सबैभन्दा विकसित र सम्पन्न मुलुकमा संघीय शासन प्रणाली रहेको उनले प्रष्ट पारे । नेपालमा केही वर्षमा आर्थिक, सामाजिक क्षेत्रमा अभूतपूर्व विकास भएको उनले बताए । यो सबै संघीयता र गणतन्त्रको देन भएको गुरुङले प्रष्ट पारे । हिजो कल्पना भन्दा बाहिरको कुरा आज व्यवहारमा देखिरहेको गुरुङले बताए । ‘यति ठूलो परिवर्तन भएको छ, नेपालमा अभूतपूर्व विकास भएको छ’, नेता गुरुङले भने ।

अहिले जनताका छोरा छोरी राष्ट्रपति बन्न सफल भएको बताउँदै गुरुङले यो अधिकार अहिलेको व्यवस्थाले दिएको बताए । अहिले पनि केही व्यक्तिहरू २ सय ५० वर्षसम्म देशलाई अन्धकारमा राख्ने राजालाई राजा आऊ देश बचाउ भनेर हिँडेका भन्दै गुरुङले आलोचना गरे । ‘आफ्नै वंशलाई बचाउन नसक्ने राजतन्त्रले कसरी देश बचाउन सक्छ, अब राजा आऊ भनेको टर्च लाइट र बिजुलीको सट्टामा आगोको अगुल्टो ल्याऊ भने जस्तै हो, अब राजा आऊ भनेको ल्यापटपको सट्टामा खरी पाटी ल्याऊ भने जस्तै हो’, गुरुङले भने ।

नेपालको संविधानले दिएको जतिको समानताको अधिकार विश्वका विकसित र ठुला प्रजातान्त्रिक भनिएका मुलुकमा पनि नभएको उनले बताए । ३३ प्रतिशत महिला सहभागिताको कुरा भारत, अमेरिका, युरोपमा समेत नभएको उनले प्रष्ट पारे । नेपालको लोकतन्त्र युरोप, अमेरिकाको भन्दा पनि एड्भान्स भएको उनले दाबी गरे । पार्टीहरूले बेइमान गरेको कारण त्यसको व्यवहारिक प्रयोगमा केही समस्या भएको बताउँदै गुरुङले त्यसमा भने केही सुधार गर्न आवश्यक रहेको बताए ।

राजनीतिक दलहरूको बेइमानीको कारण राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्गको हुन नसकेको भन्दै गुरुङले आलोचना गरे । जनताका प्रतिनिधिले मात्र जनताको अप्ठेरो र समस्या बुझ्ने उनले बताए । सरकार जनताप्रति जति नजिक भयो नागरिकका समस्या त्यति बुझ्ने उनले स्पष्ट पारे । जनताका नजिकका जनप्रतिनिधिको जनताले पनि सजिलै निगरानी गर्ने भएकोले उनीहरू जनताप्रति उत्तरदायी हुने गुरुङले बताए ।