सुर्खेत, २२ जेठ । समुद्री सतहदेखि करिब १६ हजार फिट उचाइमा टाङटुङे लेकको फेद। पूर्व र पश्चिम भिरालो पाखो। बीचमा सानो खोला। यार्सागुम्बा खोज्न गएका डोल्पा शर्मी गाविसका बासिन्दा त्यही खोलामा पाल टाँगेर सुतेका थिए। मध्यरात माथिबाट हिउँपहिरो खस्यो। यार्सा बेचेर जीवन उज्यालो बनाउने सपना बुनिरहेका १६ जनाको देह खोलामै समाप्त भयो।
यो २०६४ जेठ १५ गतेको घटना हो। त्यसअघि र पछि यार्सा संकलन गर्न जानेहरू यसरी नै मृत्युको मुखमा परेका छन्। ‘पैसाका कारण यार्सा जति आकर्षक छ, त्यसलाई पाउन उत्तिकै जोखिम पनि छ,’ डोल्पा करमगाडका रत्नबहादुर रोकाय भन्छन्, ‘मृत्युलाई जित्ने हिम्मत लिएर यार्सा टिप्न घरबाट हिँड्नुपर्छ।’
यही सातामात्र मुगुको हिमाली क्षेत्रमा यार्सा टिप्न गएका तीनजनाको ज्यान गयो। जुम्लाका मीनबहादुर तिरुवा, मानबहादुर बानियाँ र मानबहादुर बोहोरालाई उनीहरूसँग रहेको जीवनबुटी (यार्सागुम्बा) ले बचाउन सकेन। यार्सा टिपेर घर फर्किंदै गरेका उनीहरूको मुगु थापाखोलानजिकै लेक लागेर मृत्यु भयो। मुगुका प्रहरी प्रमुख पुष्कर केसीले अत्यधिक चिसोले यार्सा संकलन गर्न गएकाहरू निकै जोखिममा रहेको बताए।
यार्सा संकलन गर्न जानेहरू सबैभन्दा बढी लेक लाग्ने समस्याले मृत्युको मुखमा पर्छन्। हिमपहिरोमा पुरिएर, चिसोले कठ्यांग्रिएर र भीरबाट खसेर पनि मृत्यु हुने गरेको छ। ध्यान यार्सामा एकाग्र हुँदा उनीहरू आफ्नो ज्यानलाई समेत पर्वाह गर्दैनन्।
पढाइ छाडेर यार्सा टिप्न गएकी दार्चुला गुल्जरकी १७ वर्षीया कलावती ठगुन्नाको यही साता भीरबाट खसेर मृत्यु भयो। घटनास्थलमा रहेका स्थानीय विष्णुसिंह विष्टले दिएको जानकारीअनुसार उनी भीरबाट करिब सात सय मिटर तल खसेकी थिइन्। ‘आफूलाई सम्हाल्न नसक्दा यस्ता घटना भइरहन्छन्,’ उनले भने, ‘पैसाको पछि लाग्दा मान्छेले आफ्नो ज्यान कतिबेला जाने हो थाहै पाउँदैनन्।’ नागरिक दैनिकबाट













प्रतिक्रिया