काठमाडौं, २२ जेठ ‘हिमाल बचाऔं, वातावरण जोगाऔु’ भन्ने नारा दिएर बिहीवार सरकारले देशभरी वातावरण दिवस मनाईरहेको छ । तर वातावरण दिवसकै पूर्वसन्ध्यामा प्रशासनिक केन्द्र सिंहदरबारभित्र चाँही भटाभट हरिया रुख काटिरहेको छ ।
विश्व वातावारण दिवसको संयोजन गरिरहेको सिंहदरबारस्थित विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय परिसर र सहरी विकास मन्त्रालय यसरी रुख काटिएपछि उजाड बनेको छ ।
काटिएका रुखको गोलिया वातावरण, सहरी विकास, शिक्षा मन्त्रालय र केन्द्रिय सेवा केन्द्र आसपासमै थुपारिएको छ । ‘सिंहदरबार सचिवालय पुनःनिर्माण समिति’ले यसै साता मङ्की पजल (गोब्रेसल्ला)का पुराना ठाडा रुख काट्न थालेपछि सिंहदरबार परिसर उजाड बन्दै गएको हो । पुराना, ढल्न खोजेका र घातक रुख भन्दै समितिले यी हरिया रुख काटेको हो ।
समितिका वरिष्ठ सहायक प्राविधिक महेन्द्र भेटवालले सात वटा मात्रै रुख काटिएको बताए । ‘परिसरका भवनलाई क्षती हुने र ढल्न लागेका बुढा रुख मात्रै काटिएको होु उनले भने, ‘पुराना रुख त थुप्रै काट्नुपर्ने छ ।’ समितिले रुख काट्ने जिम्मा ठेकेदारलाई दिएको छ । अँझै रुख काट्न बाँकी रहेको समितिले जनाएको छ ।
जिल्ला वन कार्यालय काठमाडौंका सहायक वन अधिकृत डिलपूर्जा मगरले भने वन कार्यालयले ४ वटा मात्रै रुख काट्ने अनुमति दिएको बताए । ‘पुराना भन्दै बेलाबेलामा रुख काट्ने गरेको देखिन्छ’ उनले भने, ‘अहिले पनि त्यस्तै भएको हुनसक्छ ।’
वातावरण सचिव कृष्णचन्द्र पौडेलले केही हदसम्म हरियाली दिएको सिंहदरबार परिसका ठाडा रुख काट्न तत्काल बन्द गर्नुपर्ने बताए । ‘क्षती गर्छ भनेर हरिया रुख फेदैबाट काट्नु गलत हो’ सचिव पौडेलले भने, ‘हाँगा छिमलेर रुखको व्यवस्थापन गर्नेतिर पो ध्यान दिनुपर्छ ।’ समितिले सिंहरदबारमा अँझै एक सयभन्दा बढी पुराना रुख रहेको र ती कुनै पनि बेला हावाहुरीले ढल्न सक्ने बताउँदै आएको छ । यसअघि पनि समितिले परिसरमा सडक विस्तार, भवन निर्माण र अन्य विभिन्न बहानामा हरिया रुख काट्ने गरेको छ । कान्तिपुर दैनिकबाट













प्रतिक्रिया