१७ कार्तिक २०८३, मंगलबार

सरकारले अघि सारेको विपद् व्यवस्थापन योजना प्रभावकारी नभएको एमाले ठहर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Building-Bhukampa3काठमाडौँ, २५ जेठ । नेकपा (एमाले) ले भूकम्पपछि व्यवस्थित बस्ती विकासका सम्बन्धमा सरकारले अघि सारेका योजनाले विपद्को प्रभावकारी सामना गर्न नसक्ने ठहर गरेको छ ।

पार्टीले गठन गरेको भूकम्पपीडित राहत तथा उद्धार केन्द्रीय समन्वय समितिको आजको आठौँ बैठकले विपद् व्यवस्थापनका लागि नयाँ संरचना र नीतिसहितको आधारपत्र अघि सार्न पार्टीले विज्ञसँग छलफल गरी अलग्गै अवधारणा अघि सार्ने निर्णय गरेको छ ।

सरकारले जनप्रतिनिधिको भूमिकालाई उपेक्षा गरी ‘कर्मचारी संयन्त्र’मा सीमित हुने संरचना प्रस्ताव गरेको एमालेको प्रारम्भिक निष्कर्ष छ । केही दिनअघि राष्ट्रिय योजना आयोगले प्रस्तुत गरेको मन्त्रिपरिषद्को गठन आदेशबाट प्रधानमन्त्रीको अध्यक्षतामा स्थापित हुने अधिकारसम्पन्न प्रस्तावित निकायप्रति एमाले असन्तुष्ट देखिएको हो ।

समितिका संयोजक तथा पार्टीका महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको सो बैठकले भूकम्पपीडितको राहत तथा उद्धारमा पार्टीले गरिरहेका कामका बारेमा समीक्षा भएको थियो ।

बैठकमा महासचिव पोखरेलले पार्टीको प्राकृतिक विपत्ति राहत तथा कोषमा जम्मा भएको रकम पार्टीले विपद्मा परेका व्यक्ति र क्षेत्रमा समुचित र पारदर्शी ढङ्गले खर्च गर्ने स्पष्ट पार्दै समग्र विपद्का बेला पार्टीले गर्ने राहत र सहयोगमा उक्त कोषलाई केन्द्रित गर्ने बताउनुभएको एमालेका केन्द्रीय प्रचार समितिका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

बैठकमा पार्टी सचिव तथा राष्ट्रिय स्वयंसेवक परिचालन अभियानका संयोजक गोकर्ण विष्टले २५ जिल्लाका ७६ निर्वाचन क्षेत्रमा स्वयंसेवकले उदाहरणीय रुपमा स्वयंसेवा गरेको जानकारी गराउनुभएको थियो ।