
पाँचथर, ३० मंसिर । नेकपा (एमाले) स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाम्फेले समृद्धिका लागि संकल्प यात्राले पहाडको सम्भावना र चुनौतीको पहिचान गरिएको बताएकी छन् ।
एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत शनिबार पाँचथर पुगेकी तुम्बाहाम्फेले यात्राले नेपालको समृद्धिको आधार तयार गरेको बताइन् । ‘देशलाई समृद्धिमा लैजान हामीले के गर्नुपर्छ भन्ने विषयमा संकलित विषय बस्तुलाई संकलन गरेर हामीले अगाडि बढाउँछौँ’, उनले भनिन् ।
अभियानमा मिसन २०८४ लाई पनि जोडेको उनले बताइन् । २०८४ सालको निर्वाचनमा नेकपा एमालेलाई एकल बहुमत दिलाउन यो अभियानले सहयोग गर्ने उनले विश्वास व्यक्त गरिन् । ‘देशलाई राजनीतिक स्थायित्व दिनको लागि पनि यो अभियानले सहयोग गर्छ’, उनले भनिन् ।
एमाले लगातार पहिचानको पक्षमा लड्दै आएको पार्टी भएको उनले प्रष्ट पारिन् । त्यसैले संविधानमा हरेक क्लस्टरमा पहिचानसहितको सहभागिता स्थापित गर्न सफल भएको उनले बताइन् । ‘अहिले पनि हामी निरन्तर पहिचानको पक्षमा लडिरहेका छौँ, अघि बढिरहेका छौँ’, उनले भनिन् ।
कोशी प्रदेशको नामाकरणको सम्बन्धनमा केही व्यक्ति र समूहले विरोध गरेको प्रति उनले संविधानको बाटोबाट त्यसको समाधान खोज्न आग्रह गरिन् । प्रदेश सभामा बहुमत पुर्याएर वा अहिलेकै प्रदेश सभाका सदस्यलाई कन्भिन्स गराएर नाम संशोधन गर्न उनले सुझाव दिइन् ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् । बैतडीको झुलाघाटबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा भोलि पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।















प्रतिक्रिया