
पाँचथर, ३० मंसिर । नेकपा (एमाले)को संकल्प यात्राको अभियान अन्तर्गत पाँचथरमा हुने आमसभाको तयारी पूरा भएको छ ।
गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि संंकल्प यात्रा अभियान अन्तर्गत एमालेले आज पाँचथरको फिदिममा गर्ने अन्तिम आमसभाको तयारी पूरा भएको एमाले कोशी प्रदेशका सचिव राजकुमार भण्डारीले बताए ।
पार्टी जनसंगठनहरूको परिचालन गरी फिदिम माविको खेल मैदानमा हुने आमसभा स्थलमा आवश्यक तयारी पूरा गरेको भण्डारीले बताए । ग्राउन्डमा प्यारा फिट निर्माण भएको र मञ्च सजीसजाउको काम पनि सम्पन्न भएको सचिव भण्डारीले जानकारी दिए । मञ्च व्यवस्थाका लागि स्वयंसेवकहरु तीन दिनदेखि परिचालन गरिएको उनले बताए ।
उनले आज दिउँसो हुने सभाको लागि गाउँ गाउँबाट नागरिक आउने क्रम चलिरहेको बताए । अभियानको टोलीलाई दिउँसो १२ बजे तमोर नदीमा स्वागत गरेर ल्याउने र दिउँसो १ बजे एमाले पाँचथरको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए ।
अध्यक्ष ओलीलाई नगर परिक्रमा गराउने कार्यक्रम तय भएको पनि भण्डारीले जानकारी बताए । नगर परिक्रमाका क्रममा १९ भन्दा बढी जातजातिको सास्कृतीक झाँकी प्रस्तुत गरिने भण्डारीले बताए ।
उनले पाँचथरको विकास र समृद्धिका लागि विभिन्न संघसंस्था र राजनीतिक दलहरूले अध्यक्ष ओलीलाई माग पत्र बुझाउने समेत कार्यक्रम तय भएको बताए । त्यसपछि २ बजेबाट आमसभा सुरु हुने छ । आमसभा सकिएपछि लिम्बू समुदायको सांस्कृतिक नाच धान नाच समेत देखाइने कार्यक्रम रहेको छ ।











प्रतिक्रिया