२७ कार्तिक २०८३, शुक्रबार

एमालेको संकल्प यात्राको टोली आज धनकुटा आइपुग्दै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा , २८ मंसिर । नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को टोली आज बिहीबार कोशी प्रदेशको धनकुटा आइपुग्दैछ ।

गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग केन्द्रित संकल्प यात्रा १५औं दिनमा आज धनकुटा आइपुग्न लागेको हो ।

यात्रा टोलीको आज धनकुटामा हुने सबै कार्यक्रमको तयारी पूरा भएको एमाले धनकुटा जनाएको छ । संकल्प यात्राको टोलीलाई बिहान लेगुवामा फूलमालासहित स्वागत गरेर जिल्ला प्रवेश गराइने एमाले धनकुटाका अध्यक्ष इन्द्रमणि पराजुलीले जानकारी दिए ।

टोली बिहान नौ बजे  लेगुवा आइपुग्ने कार्यक्रम रहेको छ । धनकुटाका लेगुवा, पाख्रिबास, हिले, जोरपाटी र सिधुवामा कार्यक्रमहरू राखिएका छन् । त्यहाँका कार्यक्रम सकेर अभियान तेह्रथुम प्रवेश गर्ने छ र वसन्तपुरमा आमसभा हुने छ ।

यात्राका क्रममा लेगुवामा ज्येष्ठ नागरिकसँग भेटघाट गर्ने कार्यक्रम पनि राखिएको छ । त्यस्तै पाख्रिबासमा कृषि अनुसन्धान केन्द्रका वैज्ञानिकसँग कृषिको सम्भावना र चुनौतीका विषयमा अन्तरक्रिया हुने छ ।

आजै एमाले अध्यक्ष केपी शर्मा ओलीले हिलेमा पार्क उद्घाटन गर्ने कार्यक्रम पनि राखिएको छ । धनकुटा नगरपालिकाका प्रमुख तथा एमाले जिल्ला उपाध्यक्ष चिन्तन तामाङले धनकुटा नगरको कार्य प्रगति र भावी योजनाको विषयमा अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम पनि रहेको छ ।

जोरपाटीमा संकल्प यात्राको टोलीलाई स्वागत गर्ने कार्यक्रम छ । सिधुवामा भने कृषक र कृषि क्षेत्र सम्बद्ध सरोकारवालासँग अन्तरक्रिया राखिएको छ । सिधुवाको कार्यक्रम पछि दिउँसो वसन्तपुरमा सभा राखिएको छ । वसन्तपुरको सभा धनकुटा, तेह्रथुम र सङ्खुवासभाको तर्फबाट संयुक्त रूपमा गर्न लागिएको हो ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् । बैतडीको झुलाघाटबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।