
काठमाडौं, २६ मंसिर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले मात्रै भ्रष्टाचार र तस्करी नियन्त्रण गरी कानुनी राज्यको अनुभूति दिन सक्ने बताएका छन् । पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियान अन्तर्गत आज ओखलढुंगाको हर्कपुरमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले एमालेले मात्रै शान्ति सुव्यवस्था कायम गर्न सक्ने बताए । अध्यक्ष ओलीले देशको हित राष्ट्रिय स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा एमालेले मात्रै गर्न सक्ने बताए् ।
एमाले सरकारमा गएको बेला गरेको विकासका कामले नै एमालेले मात्रै देश विकास गर्न सक्ने प्रमाणित गरेको बताउँदै अध्यक्ष ओलीले एमालेले मात्रै देशमा समृद्धि ल्याउने बताए ।

उनले एमाले साँढे ३ वर्ष सरकारमा हुँदा राष्ट्रिय हितको काम गरेको बताए । अहिले विकास निर्माण ठप्प भएको भन्दै यस विषयमा गठबन्धन सरकारले सोच्न समेत नसकेको अध्यक्ष ओलीको दाबी छ ।
वर्तमान सरकारले राष्ट्रिय एकताको भावना बढाउन त के यस बारेमा सोच्न सम्म पनि नसकेको अध्यक्ष ओलीले टिप्पणी गरे । उनले अहिले पनि यो सरकारले साम्प्रदायिकता पक्षहरूलाई भित्र भित्रैबाट बढवा दिइरहेको उल्लेख गरे । गठबन्धन सरकारले निराशाको भावना फैलाउँदै राष्ट्र भक्तिलाई कमजोर बनाएको अध्यक्ष ओलीको भनाइ थियो ।

योसँगै आजबाट संकल्प यात्रा कोशी प्रदेश प्रवेश गरेको छ । यही मंसिर १४ गते बैतडीको झुलाघाट सुरु १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आज कोशी प्रदेश प्रवेश गरेको हो । टोलीलाई कोशीमा पार्टीका नेता कार्यकर्ता र स्थानीयले भव्य स्वागत गरेका छन् ।

कोशी प्रदेशको पश्चिमी सीमा उदयपुरको कटारी नगरपालिका वडा नं १४ को घुर्मी बजारमा बागमती प्रदेश एमालेले यात्राको जिम्मा कोशी प्रदेश एमालेलाई लगाएको एमाले कोशी प्रदेशका सचिवालय सदस्य ज्ञानेन्द्र श्रेष्ठले बताए । त्यस अवसरमा टोलीलाई एमालेको प्रदेश कमिटी, उदयपुर जिल्ला कमिटी, कटारी नगर कमिटीले घुर्मीमा स्वागत गरेको एमाले नगर कमिटी अध्यक्ष सञ्जीव कार्कीले बताए ।











प्रतिक्रिया