२८ कार्तिक २०८३, शनिबार

संकल्प यात्राले जनतामा नयाँ सन्देश प्रवाह गर्नुका साथै जागरण पैदा गरेको छः ईश्वर पोखरेल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । नेकपा (एमाले)को मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’मा रहेका पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यात्राले जनतामा नयाँ सन्देश प्रवाह गर्नुका साथै जागरण पैदा गरेको बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मंसिर १४ गते सुदूरपश्चिम प्रदेशको बैतडीको झुलाघाटबाट सुरू भएको संकल्प यात्रा कर्णाली प्रदेश हुँदै गण्डकी प्रदेश गरेको उल्लेख गर्दै यस्तो बताएका हुन् ।

उनले संकल्प यात्राले मध्यपहाडमा समस्या मात्र नभई, थुप्रै सम्भावनाहरूलाई पनि उजागर गरेको बताए । ‘हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वमा मंसिर १४ गते सुदूरपश्चिम प्रदेशको बैतडीको झुलाघाटबाट सुरू भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रीत संकल्प यात्राका क्रममा हामी कर्णाली प्रदेश हुँदै गण्डकी प्रदेश प्रवेश गरेका छौं । यो संकल्प यात्राले जनतामा नयाँ सन्देश प्रवाह गर्नुका साथै जागरण पैदा गरेको छ ।’ बिहीबार सामाजिक सञ्जालमा लेख्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले भनेका छन्, ‘मध्य पहाडमा समस्या मात्र छैनन्, थुप्रै सम्भावनाहरूलाई पनि यस संकल्प यात्राले उजागर गरेको छ । यो स्तरमा पहिलोपटक भएको यात्राले जनतालाई भविष्यप्रतिको आशा बढाएको छ । हामीले जनतालाई भेटेका छौं, उहाँहरूका भावना, चाहना र अपेक्षालाई पनि नजिकबाट सुनेका छौं । उहाँहरूमा राजनीति जागरणसहित विकासका सवालमा चासो बढ्नुका साथै यस क्षेत्रको भूगोलमा रहेका अन्तर्निहित सम्भाव्यताप्रति मोह बढाएको छ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले विकासका योजना, परियोजना र सुदूर भविष्यसम्मलाई उन्नत नीति बनाउन संकल्प यात्रा “माइलस्टोन” बन्ने विश्वास लिएको उल्लेख गरेका छन् । नेता पोखरेलले यात्राका क्रममा सद्भाव, शुभेच्छा र उत्साह देखाउनुहुने सम्पूर्ण जनसमुदायप्रति आभार र धन्यवाद ज्ञापन गर्दै राष्ट्र निर्माणको यो महाअभियानमा जोडिन सबै जनालाई अनुरोध समेत गरेका छन् ।