उदयपुर, २४ जेठ । उदयपुर जिल्लामा भ्रष्टाचार गरेको भन्दै विप्लव माओवादीका कार्यकर्ताले नेपाली काँग्रेसका कार्यकर्तालाई कालोमोसो दलेर पेट्रोल छर्किदिएका छन् ।
काँग्रेसका सक्रिय कार्यकर्ता शंकर बस्नेतलाई त्रियुगा नगरपालिका– १ बोक्सेमा रहेको त्रियुगा साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा भ्रष्टाचार गरेको भन्दै विप्लवका कार्यकर्ताले कालोमोसो दलेका हुन् । बस्नेत खानेपानी समितिका अध्यक्ष पनि हुन् ।
उपभोक्ता समितिको कार्यालयमा बैठक बसिरहेको बेला आइतबार मध्यान्ह १२ बजे केही नकाबधारीले कालोमोसो दलेर पेट्रोल छर्किदिएका थिए ।
उपभोक्ता समितिका पदाधिकारीहरुको बैठक बसिरहेका बेला पाँच जना नकाबधारी प्रवेश गरेर बपेट्रोल छर्कनुका साथै कालोमोसो दलेको पीडित बस्नेतले बताए । आफू्माथि मोसो दल्ने र पेट्रोल छर्कने समूह नेत्रविक्रम चन्द (विप्लव) समूहको माओवादी कार्यकर्ता भएको बस्नेतले बताए ।
उनका अनुसार मोसो दलेर उक्त नकाबधारी समूह मकैबारीतिर गएको थियो । चन्द समूहले भने बस्नेतमाथि त्रियुगा साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीमा करोडौँको भ्रष्टाचार गरेको आरोप लगाउँदै आएको छ ।
बस्नेतमाथि भएको दुव्र्यवहारको चन्द समूहका उदयपुर जिल्ला इन्चार्ज केदार राईसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
यता बस्नेतमाथि पेट्रोल छर्केर मोसो दल्नेहरुको खोजीकार्यलाई तीव्रता दिइएको उदयपुरका प्रहरी उपरीक्षक टेकबहादुर गुरुङले बताएका छन् ।















प्रतिक्रिया