
काठमाडौं, १४ मंसिर । दशैं तिहारको मौका छोपेर चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा मारेर खाग चोरी गर्ने आठजना पक्राउ परेका छन् ।
बिहीबार राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा पत्रकार सम्मेलनमार्फत पक्राउ परेका व्यक्तिहरुलाई सार्वजनिक गरिएको हो । निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए ।
अन्दाजी १८ र ६ वर्षको पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोे तस्कर पक्राउ गर्न खटिएको थियो । मंसिर ९ गते पूर्वी चितवनको राप्ती नगरपालिका–३ बाट छ जना र ११ गते सोही नगरपालिकाको भण्डाराबाट दुई जना पक्राउ परेका जनाइएको छ ।
पक्राउ परेकाहरुमा मकवानपुरका रमेश खाती, चितवनका पासाङ भनिने आइते सिंह मोक्तान, मकवानपुरका समसेर थिङ, मकवानपुरकै सिताराम थिङ, रोल्पाका अर्जुन रोका, गोरखाका धनवहादुर गुरुङ, चितवनका उन बहादुर स्याङतान र मकवानपुरका इन्द्र बहादुर तामाङ रहेको निकुञ्जका वार्डेन दिल बहादुुर पूर्जा पुनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाले चाडपर्वमा बेला मौका छोपेर गैडालाई मारेको देखिएको जानकारी दिए । उनले उक्त घटनापछि पाठ सिकेको र आगामी दिनमा यस्ता घटना हुन नदिन थप गम्भीरता अपनाउने बताए । त्यस्तै केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता नवराज अधिकारीले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।
उनले गैडा मारेपछि खाग किन्नेहरुको खोजीमा रहेका बेलमा पक्राउ गर्न सफल भएको बताए । गैँडा मारेर खाग बिक्री गर्न तयारी गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । पक्राउपछि उनीहरूबाट दुई वटा खागसमेत बरामद गरिएको छ ।
सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३८ वटासम्म गैँडा तस्करले मारेका थिए । पछिल्ला वर्षहरूमा वन्यजन्तु चोरी सिकारी घटेर गएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैँडा रहेका छन् ।















प्रतिक्रिया