१७ कार्तिक २०८३, मंगलबार

भैरहवाको तापक्रम ४३ डिग्री माथि, जनजीवन प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhairahawa

लुम्बिनी (रुपन्देही), २४ जेठ । केही दिनदेखि बढेको गर्मी र तातो हावाका कारण रुपन्देहीलगायत तराईको जनजीवन प्रभावित भएको छ ।

शनिबार रुपन्देहीमा यस वर्षकै सबैभन्दा बढी तापमान मापन गरिएको छ । भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा रहेको मौसम शाखाका अनुसार विगत केही दिनयताको तापक्रम ४० डिग्री माथि रहेको छ ।

शाखाका प्रमुख राजेश झाका अनुसार शनिबारको तापक्रम ४३ दशमलव ३ डिग्री सेल्सियस मापन भयो । एक साताअघि ४१ दशमलव १ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।

गत वर्ष जेठ ७ गते सबैभन्दा बढी भैरहवाको तापक्रम ४२ दशमलव ६ डिग्री सेल्सियस मापन गरेको थियो । यसभन्दा अघिल्ला वर्र्षमा २०५५ सालमा भैरहवामा सबैभन्दा बढी ४४ दशमलव ८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । यो वर्र्ष जेठ महिना सुरु भएसँगै भैरहवाको तापक्रम सरदर ४०÷४१ डिग्रीको हाराहारीमा रहँदै आएको शाखाले जनाएको छ ।

गर्मी अत्यधिक बढेपछि बजारमा चहलपहल निकै घटेको छ । गर्मीका कारण अत्यावश्यक कामबाहेक सर्वसाधारण बाहिर निस्कन सकेका छैनन् । सहर तथा चोकमा दिउँसो चहलपहल घटेको छ । गर्मीले विशेष गरी मजदुरी गरी खाने वर्ग बढी समस्यामा परेको छ । साना बालबालिका तथा वृद्धवृद्धालाई गर्मीले बढी असर गरेको छ ।

बढ्दो गर्मीकै कारण विभिन्न रोगका सङ्क्रमण बढेपछि अस्पतालमा बिरामीको भीड लागेको छ । झाडापखाला, आउँ, ज्वरो, टाइफाइड तथा कमलपित्तका बिरामीको सङ्ख्या बढेको सरकारी तथा निजी अस्पतालले जनाएका छन् ।

दैनिक एक सयको हाराहारीमा बिरामी आउने जिल्ला भीम अस्पताल भैरहवामा अहिले डेढ सय बिरामी आउने गरेको अस्पतालको सूचना शाखाले जनाएको छ ।

बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा पनि गर्मीका कारण बिरामीको चाप बढेपछि एउटै शय्यामा दुई÷तीन जना राखेर उपचार गर्नुपर्ने अवस्था आएको अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले बताउनुभयो । अस्पताल आउने बिरामीमध्ये आधाभन्दा धेरै बालबालिका तथा वृद्धवृद्धा रहेको अस्पतालका सूचना अधिकृत रेग्मीले जानकारी दिनुभयो । रासस