२७ कार्तिक २०८३, शुक्रबार

सामाजिक अराजकतालाई टुलुटुलु हेरेर बस्न सकिन्नः महासचिव पोखरेल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकार चलाउनेहरु नालायक भए भन्दैमा एमालेले सामाजिक अराजकतालाई टुलुटुलु हेरेर नबस्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी जनसंगठन पदाधिकारीहरुको विशेष भेलामा बोल्दै महासचिव पोखरेलले न्याय र सत्यका पक्षमा एमाले पङ्क्ति उभिन सक्छ भन्ने मान्यता स्थापित गर्न जरुरी रहेको बताए ।

‘हामी सत्तामा छैनौं त्यसैले केही वास्ता छैन भनेर बस्न मिल्छ ? यो सरकार नालायक भयो भन्दैमा एमाले गैरजिम्मेवार बन्न सक्छ ? समाजलाई सही बाटोमा हिँडाउने दायित्व राज्यसत्ताको हो भनेर हामी उदासिन बन्न सक्दैनौं । शासकहरुका कर्मले फैलिएको निराशा र अराजकतालाई चिर्नका लागि कोही न कोही त अगाडि आउनुपर्छ । त्यो कोही न कोही भनेका एमालेका युवा विद्यार्थी हुन् ।’ उनको भनाई थियो ।

उनले सरकार चलाउनेहरूको कमजोरी र उदासीनताका कारण अहिले मुलुकमा धेरै खाले अराजकता र साम्प्रदायिक विद्वेष फैलिरहेको बताए । अहिले मुलुकमा एमाले र नेपाली सेना दुई वटा शक्तिमाथि आक्रमण भइरहेको भन्दै उनले यी दुई शक्तिलाई कमजोर पार्दा नेपाल राष्ट्र कमजोर हुने भन्दै यस्तो अवस्थामा एमाले चुप लाग्न नसक्ने स्पष्ट पारे ।