२७ कार्तिक २०८३, शुक्रबार

राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको मुद्दालाई सत्ता प्राप्तिको भर्‍याङ बनाउन हुँदैनः थापा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको मुद्दालाई सत्ता प्राप्तिको भर्‍याङ वा निहित स्वार्थ पुर्ति गर्ने माध्यम बनाउनु नहुने बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन् ।

उनले २०६३ सालको कहालीलाग्दो अवस्थामा हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको एजेण्डा बोकेर हिड्ने एकमात्र दल राप्रपा नेपाल भएको बताए । थापाले संख्याको कमिले संविधानसभाबाट राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न नसकेता पनि जनताको अभिमतबाट हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना गर्न सक्ने संवैधानिक अधिकार सुनिश्चित गर्ने कामको श्रेय समेत राप्रपा नेपाललाई रहेको उल्लेख गर्दै अहिले विभिन्न दल, व्यक्ति र समूह राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा उभिएको र संघर्ष गर्न तयार भएको देख्दा खुसी र गौरवको अनुभूति भएको जनाएका छन् ।

राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको निम्ति जुनसुकै दल वा समूहबाट भएका र हुने प्रयास र कार्यमा राप्रपा नेपालको नैतिक समर्थन रहने उनको भनाइ छ ।

थापाले विगतमा केही कमजोरी र त्रुटि भएको भन्दै विगतको अनुभवबाट पाठ सिकेर राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न चाहने सबै एउटै मोर्चामा आबद्ध भइ निर्णायक संघर्षमा जुट्न आह्वान समेत गरेका छन् ।