काठमाडौँ, २३ जेठ । भूकम्पपीडितको सहयोगार्थ राजनीतिक दलका शीर्ष नेता र कलाकारबीच मैत्रीपूर्ण फुटबल सुरु भएको छ ।
राष्ट्रपति डा रामवरण यादवले बल रेफ्रीलाई दिनुभएपछि खेल सुरु भएको हो । करिब ३२ डिग्री सेल्सियस तापक्रम रहेको काठमाडौँको अहिलेको स्थितिमा खेल चलिरहेको छ ।
सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकको मैदानमा १५.३५ बजे सुरु भएको सो प्रतियोगितामा प्रधानमन्त्री सुशील कोइरालासहित प्रमुख दलका शीर्ष नेता प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएका छन् ।

खेलमा प्रधानमन्त्री कोइरालाले २५ मिनेट खेले । प्रचण्ड र ओलीले ५ मिनेटमात्रै खेलेर बाहिरिए । हरियो जर्सीमा प्रतिस्पर्धामा लागि मैदानमा उत्रिएको प्रधानमन्त्रीको टोलीमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधकुमार नेपाल, डा बाबुराम भट्टराई, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेता सहभागी हुनुहुन्छ ।
प्रधानमन्त्री कोइराला ११ नंको जर्सीमा उत्रनुभएको छ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ३५ नं जर्सीमा सहभागी हुनुभएको छ ।

राजनीतिक दलका तर्फबाट उपसभामुख ओनसरी घर्ती, नेत्री पम्फा भुसाल र हिसिला यमी तथा कलाकारका तर्फबाट करिष्मा मानन्धर र दीपाश्री निरौला महिला खेलाडीका रुपमा मैदानमा उत्रनुभएको छ ।

यस्तै रातो जर्सीमा उत्रिएको कलाकार टोलीको नेतृत्व मह जोडीले गरेको छ । सो टोलीमा चर्चित कलाकारको सहभागिता रहेको छ । अहिलेको ताजा समाचार अनुसार कलाकारको टोलीले नेताको टोलीलाई १ गोल हानेको छ ।
‘नयाँ पत्रिका’ राष्ट्रिय दैनिकको आयोजनामा उक्त खेल सुरु हुनुअघि भूकम्पमा परी ज्यान गुमाएकाप्रति मौन धारणा गरिएको थियो भने राष्ट्रिय गान बजाइएको थियो ।















प्रतिक्रिया