२९ आश्विन २०८३, बिहिबार

निर्माण सामग्रीको मूल्य नबढ्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sariyaकाठमाडौँ, २२ जेठ । निर्माण व्यवसायसँग सम्बन्धित उद्योगीले वैशाख ११ अघिकै मूल्यमा निर्माण सामग्री बिक्री वितरण गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन् ।

उद्योग मन्त्रालयले आज आयोजना गरेको छलफल कार्यक्रममा व्यवसायीले यस्तो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा उद्योग मन्त्री महेश बस्नेतले निर्माण उद्योगसँग सम्बन्धित सबै उद्योग व्यवसायलाई प्रोत्साहन दिने सम्बन्धमा मन्त्रालयले छलफल अगाडि बढाएको बताउनुभयो ।

“भूकम्प अघिकै सामग्री बिक्री वितरण गर्ने प्रतिबद्धता व्यवसायीले जनाउनुभएको छ, व्यवसायीले आफ्ना डिलरलाई पनि यसबारेमा जानकारी गराई बढी मूल्य लिएमा कारबाही गर्न अग्रसर हुनुपर्छ”–मन्त्री बस्नेतले भन्नुभयो ।

मन्त्रालयका सचिव जयमुकुन्द खनालले जस्तापाता उत्पादन गर्ने चारवटै कम्पनीले भूकम्पबाट बढी प्रभावित १४ वटै जिल्लामा डिलर सञ्चालन गरेर खरिद गर्न सहज बनाइदिनुपर्ने बताउनुभयो ।

वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक शम्भु कोइरालाले विभागले गरेको अनुगमनमा जनताले जस्तापाता पाउन नसकेको बताउनुभयो ।

नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाले नियमितरुपमा विद्युत्को लाइन पाएमा वैशाख ११ गते अघिको भन्दा पनि सस्तोमा सिमेन्ट बिक्री गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ, राजेश हार्डवेयर्सका सञ्चालक राजेश अग्रवाल, छड व्यवसायी महासङ्घ, क्रसर उद्योग व्यवसायी महासङ्घ, नेपाल चेम्बर अफ कमर्स र नेपाल इँट्टा व्यवसायी महासङ्घलगायतका प्रतिनिधिले भूकम्प अघिकै बजार भाउमा सामग्री बिक्री वितरण गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए । रासस