गोरखाबजार, २२ जेठ । प्रहरीको खोजी सूचीमा रहेका ‘बाघे’ भन्ने धनबहादुर गुरुङ पेस्तोलसहित पक्राउ परेपछि गोरखाको बारपाकमा तनाव भएको छ ।
पक्राउ परेका गुरुङलाई छुटाउन स्थानीय युवाको समूहले प्रहरीलाई लछारपछार गरेपछि स्थानीय युवा र प्रहरीबीच दिउँसो सामान्य झडप भएको थियो ।
“दुईवटा पेस्तोलसहित गुरुङलाई पक्राउ गरिएको र थोरै सङ्ख्यामा रहेका प्रहरीलाई स्थानीय युवाको समूहले लछारपछार गरेपछि हतकडीसहित उनी भागेछन्”– प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले भन्नुभयो ।
गुरुङको खोजी गर्न इलाका प्रहरी कार्यालय जौबारीबाट थप सुरक्षाकर्मीको टोली बारपाक पठाइएको छ । ठेक्कापट्टामा अवरोध गरी निर्माण व्यवसायीलाई धम्की दिएको आधारमा प्रहरीले गुरुङलाई पक्राउ गरेको हो ।
गुरुङको साथबाट बरामद गरिएको हतियारको नाम खुलेको छैन । प्रहरीले गुरुङलाई पक्राउ गरेपछि स्थानीय युवाले प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । रासस













प्रतिक्रिया