
काठमाडौं, २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल खोलेर निष्कर्षमा पुर्याउन सरकार असफल भएको बताएका छन् ।
रास्वपा काठमाडौं क्षेत्र नम्बर २ ले बिहीबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा लामिछानेले सरकारले भ्रष्टाचारको फाइल खोल्न आँट गरेपनि निष्कर्षमा भने पुर्याउन नसकेको बताएका हुन् ।
भ्रष्टाचारको फाइल खोल्दा आफ्नै मान्छेको अनुहार देखेपछि पहिलो देखि दोश्रो पन्ना पल्टाउन नसकेको उनको भनाइ छ । सभापति लामिछानेले आगामी निर्वाचनपछि भ्रष्टाचारको फाइलको धुलो टक्टक्याएर पहिलो पन्नादेखि नै अनुसन्धान गर्ने र कसैको मुख नहेरी कारवाही गर्ने जिकिर गरे ।
लामिछानेले कोशी प्रदेशमा महागठबन्धन बनेसंगै अब सैद्धान्तिक रूपमा मात्रै नभइ व्यवहारिक रुपमा नै रास्वपा देशको एक मात्रै प्रतिपक्षी दल भएको धारणा राखे ।
त्यस्तै लामिछानेले रास्वपालाई विदेशीको इशारामा चलेको भन्ने आरोप पुष्टि गर्न चूनौति दिए । नेपाली माटोमा नेपाली जनताले माया गरेर हुर्काएको रास्वपाले कसैको जुठोपिरो नखाने उनको भनाइ छ ।















प्रतिक्रिया