
काठमाडौं, २ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी निर्वाचनमा गठबन्धन गरेर गए कांग्रेस एक रहन नसक्ने बताएका छन् ।
नेपाल प्रेस युनियन काठमाडौंले बिहीबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा थापाले ८४ को निर्वाचनमा गठबन्धन हुन नसक्ने भन्दै यदी कांग्रेस गठबन्धन गरेर गए पार्टी एक नरहने बताएका हुन् ।
थापाले निर्वाचनपछि गठबन्धन गर्न सकिने र सरकार चलाउन गठबन्धनमा रहेकामध्ये एकलाई निश्चित समय एक्लै चलाउन दिनुपर्ने धारणा राखे ।
निर्वाचनअघि गठबन्धन गरेर जानु सैद्धान्तिक रुपमा नै गलत भएको उनको भनाइ छ । गठबन्धनमा रहेपछि संयुक्त नीति तथा कार्यक्रमका आधारमा सरकार चल्नुपर्नेमा त्यसो हुन नसकेको उनले बताए । थापाले गठबन्धनमा रहेकै कारण सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउन बिदा दिने कुरा कांग्रेसले स्वीकार गर्न नसक्ने स्पष्ट पारे ।
थापाले कोशी प्रदेशको राजनीतिक परिघटनापछि वाग्मती प्रदेशमा पनि सरकार फेर्नुपर्ने र कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै सांसदहरू आफूलाई भेट्न आएको बताए ।
उनले अहिलेको अवस्थामा कांग्रेसले आफैँतिर फर्केर नेता कार्यकर्ता तथा जनताको असन्तुष्टिलाई सम्बोधन गर्न सच्चिएर जानुपर्ने धारणा राखे । आगामी महासमिति बैठकको मञ्चलाई कुण्ठा भन्दा पनि पार्टीको कमीकमजोरीलाई सुधार गर्न केन्द्रीत हुनुपर्नेमा उनले जोड दिए ।















प्रतिक्रिया