
काठमाडौं, २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पर्वका नाममा उपहार नपठाउन आग्रह गरेका छन् ।
लामिछानेले सूचना नदिई पार्टी र नेता विशेषको नाममा पार्टी कार्यालयमा उपहार पठाउन थालिएको भन्दै नपठाउन आग्रह गरेका हुन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्ः
पर्व वा सन्दर्भ विशेषमा शुभकामनासहित उपहार अदान-प्रदान गर्ने सर्वव्यापी चलन छ । जुन हार्दिक सम्बन्ध निरन्तरताको कामनासँग जोडिन्छ । व्यक्तिको भावनात्मक पक्षसँग जोडिएको यो चलन अत्यन्तै सकारात्मक हुँदा-हुँदै पनि राष्ट्रिय स्वतन्त्र पार्टीले भने उपहार स्वीकार नगर्ने नीति लिएको छ । पूर्वसूचना बेगर पार्टी र नेता विशेषको नाममा केन्द्रीय कार्यालय, वनस्थलीमा उपहार पठाउने क्रम सुरु भएकाले पार्टीको नीति सार्वजनिक जानकारीका लागि अवगत गराएको हुँ । मेरा लागि पनि प्रत्यक्ष वा अप्रत्यक्ष (कोही/कसैमार्फत) उपहार पठाउने कष्ट नगर्न अनुरोध छ । जुनसुकै व्यक्ति वा संस्थासँग पार्टीको सम्बन्ध उपहारको आकर्षणले भन्दा ऐजेण्डाप्रतिको ऐक्यवद्धताले निर्धारण गर्ने भएकाले यो नीतिलाई सकारात्मक सुरुआतको रुपमा ग्रहण गरिदिनुहुन सम्वद्ध सबैमा आग्रह गर्दछु ।
धन्यवाद ।











प्रतिक्रिया