
काठमाडौं, ३० असोज । नेपाल पत्रकार महासंघले मंगलबार कान्तिपुर मिडिया ग्रुपमा धर्ना दिएको छ ।
व्यवस्थापनले निष्कासन गरेका ८२ जना पत्रकारको पुनर्वहाली, अनधिकृत सरुवाको बदर र श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वय लगायतका माग पूरा गर्न महासंघले एक घण्टा धर्ना दिएको हो ।
महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कान्तिपुरले न्यूनतम माग पनि सम्बोधन गर्न तयार नभएकाले आन्दोलनमा आउनुपरेको बताए । ‘महासंघ कसैको दबाबका अगाडि डग्दैन, कसरी आन्दोलन हुन्छ र कसरी श्रमजीवीका अगाडि व्यवस्थापन झुक्नुपर्छ भन्ने हामीसँग इतिहास छ,’ उनले भने, ‘कान्तिपुरजस्तो संस्थाको विश्वसनीयता नखस्कियोस् र बदनामी नहोस् भन्नेमा हामी सचेत छौँ, तर यस विषयमा व्यवस्थापन बेलैमा सचेत हुनुपर्छ ।’ तत्काल नि:शर्त पुनर्बहाली र सरुवा बदर गर्न उहाँले कान्तिपुरसँग माग गरे ।
उनले अन्तर्राष्ट्रिय पत्रकार महासंघसहितका संस्थाहरू र कुटनीतिक नियकामा पनि पत्राचार गरी श्रमको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरिने चेतावनी समेत दिए ।
महासंघका महासचिव रोसन पुरीले कान्तिपुरले श्रमजीवी पत्रकार ऐन लगायतका कानुन कार्यान्वयन नगर्दा पत्रकारहरू सडकमा उत्रिनुपर्ने अवस्था आएको बताए । ‘कान्तिपुरले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएन, उल्टो पत्रकारमाथि अपमान गरिहर्यो,’ पुरीले भने, ‘कानुनअनुसार पत्रकारले पाउने सेवासुविधा कान्तिपुरले निदिएसम्म यो आन्दोलन रोकिँदैन । यो आन्दोलनको सुरुवात हो, यसलाई निष्कर्षमा पुर्याएर मात्र हामी उठ्ने छौँ ।’ यो कान्तिपुरसँगको पैठोजोरी नभएर आधारभूत मानवअधिकारको विषय भएको उनको भनाइ छ ।

प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले श्रमजीवीको विषय समग्र मिडिया उद्योगमा रहेकाले यसलाई विस्तारित गर्नुपर्ने बताए । यस्तै, समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले धर्नामा ऐक्बद्धता जनाउँदै श्रमको मुद्दा निरुपण गर्ने यो उपयुक्त बेला भएको बताए ।
श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैशीले पत्रकारहरूको न्यायपूर्ण आन्दोलनमा आफूहरूको ऐक्यबद्धता रहेको बताए । जायज मुद्दा र शालीन आन्दोलनलाई सकारात्मक रुपमा लिन र कानुनको पालना गर्न उनले आग्रह गरे । सम्पूर्ण श्रमजीवीहरूलाई एकताबद्ध गरेर आन्दोलनलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।
काठमाडौं पोस्टका पत्रकार प्रज्ज्वल ओलीले कानुन र विधिअनुसार निर्णय लिन व्यवस्थापनलाई अनुरोध गरे । आफूहरूले सामूहिक माग राख्दा व्यक्तिगत रुपमा बोलाएर दबाब दिने गरेको उनले सुनाए । ‘हाम्रो जायज माग सुनुवाई नभएसम्म हाम्रो आन्दोलन जारी रहनेछ,’ उनले भने ।
कान्तिपुरका पत्रकार अतुल मिश्रले पत्रकारको श्रमको आन्दोलन कान्तिपुर संस्थाविरुद्ध नभएको स्पष्ट पारे । ‘हामीले श्रमको मूल्य मागेका हौँ, व्यवस्थापनले यसलाई आफूविरुद्धको आन्दोलन नठानोस,’ उनले भने ।
धर्नामा कान्तिपुर मिडिया ग्रुपमा कार्यरत पत्रकारहरूसहित पत्रकारका विभिन्न संगठनका प्रतिनिधिहरू पनि सहभागी थिए ।













प्रतिक्रिया