
काठमाडौं, ३० असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असल उद्देश्य र सही गन्तव्यमा हिँडेको र आफूलाई अद्यावधिक गर्दै आएको एमाले गतिशील पार्टी भएको बताएका छन् ।
एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनबाट सर्वसम्मत निर्वाचित नयाँ कमिटीको शपथ ग्रहण तथा वडा दशैंका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष ओलीले राम्रो उद्देश्य र सही गन्तव्य बोकेर हिँडेको र आफूलाई अद्यावधिक गर्दै आएको पार्टी पुरानो नहुने स्पष्ट गरेका हुन् ।
एमालेले नयाँ दृष्टिकोणका साथ नयाँ बाटो देखाउँदै काम गरिरहेकाले एमाले मुलुकको नयाँ पार्टी भएको उनको भनाइ छ ।
नेकपा एमाले नीति र विधि नभएको कांग्रेस जस्तो बूढो र ३५ बर्षदेखि अध्यक्ष नफेरेको जड पार्टी नभएको बताउँदै अध्यक्ष ओलीले भने, ‘मुलुकमा राजनीतिक तथा सामाजिक परिवर्तनका लागि गरिएको त्याग र बलिदानको उपहास गरेर एकथरि तत्वहरू झिल्के (पुराना र नयाँ पार्टी) कुरा गरेर जनता अल्मल्याउँदैछन्, जनतालाई त्यो भ्रम र अलमलबाट बचाउनुपर्छ ।’
झिल्ने कुरा गर्ने, नीति विधि नभएका र जड पार्टी गरी तीनै खालका दलहरूलाई जथाभावी भोट नहाल्नका लागि जनतामा चेतना जगाउने काममा पार्टीको कमजोरी रहेको अध्यक्ष ओलीले बताए ।
उनले नेकपा एमाले अग्रगमन र समाज रूपान्तरणको अभिभारा बोकेर हिँडेको हुँदा पार्टीले त्यस विषयमा जागरण अभियान चलाउने चलाउने बताउँदै उपत्यका विशेष प्रदेश राजधानीमा रहेको विशेष प्रकृतिको कमिटी भएकाले जन जागरण अभियानमा यसको भूमिका विशेष हुनुपर्नेमा जोड दिए ।













प्रतिक्रिया