
काठमाडौं, २९ असोज । नेपालीको महान चाड बडादशैं अन्तर्गत नवरात्रको दोस्रो दिन सोमबार देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिएको छ ।
ब्रहमचारिणी देवीलाई ब्रह्म विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ । ब्रह्मचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ ।
सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रह्मचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ । ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ ।
नवरात्र अन्तर्गत पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।
आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाराधना गर्ने शास्त्रीय नियम छ । दशैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।













प्रतिक्रिया