
काठमाडौं, २८ असोज । २०७५ सालमा रेकर्ड भएको मौलिक डेउडा गीत ‘धन्य मायाजाल’ को अडियो तथा भिडिओ आज आइतबार सार्वजनिक भएको छ ।
बहुमुखी प्रतिभाका धनी पत्रकार तथा कलाकार झलक पाली ‘झरना’ र अम्बिका राई ‘अञ्जु’को स्वरमा सजिएको उक्त गीत करिब पाँच वर्ष लामो प्रतिक्षापछि सार्वजनिक भएको हो ।
नजर मिडिया प्रालिको प्रस्तुतिमा भीम बिष्ट/अछामी रेखा युटुब च्यानलबाट गीत सार्वजनिक गरिएको छ । मालश्री स्टुडियोमा रेकर्ड गरिएको गीतमा शब्द/सँगीत झलक पाली ‘झरना’को रहेको छ भने एरेञ्ज बिनोद बाजुरालीले गरेका हुन् ।
त्यस्तै, रेकर्डिङ्ग बिमल छिनालले गरेका हुन् भने अडियो मिक्सिङ्ग तथा मास्टरिङ्ग खडक बाजुरालीले गरेका हुन् । सिर्जनामा मौलिकता, भावमा प्रेमिलता रहेको गीतको भिडिओमा भीम बिष्ट/अछामी रेखाले निर्देशन गरेका छन् भने झरना बोहरा, झलक पाली ‘झरना’, अम्बिका राई ‘अञ्जु’ र खडक मल्लले अभिनय गरेका छन् ।
कैलालीको धनगढीमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिवपुरी धाम र डोटीको जोरायल गाउँपालिका–१ तिलाचौडमा छायाँकार अमृत उपाध्याय गीतको छायाङ्कन गरेका हुन् । भिडिओ सम्पादन तथा रङ्ग संयोजन महेन्द्र बिष्टले गरेका छन् भने मेकअप निशा बोहराले गरेकी हुन् ।
गीतको प्रवर्द्धकमा कैलालीको धनगढी, तारानगरमा रहेको अत्री गारमेन्ट उद्योग र डोटीको जोरायल १ तिलाचौडमा रहेको मल्ल तरकारी फर्म रहेका छन् । झुमेर डेउडा खेल्न मिल्ने भएकाले पनि सो गीत दर्शक श्रोताको रोजाइमा पर्ने ‘धन्य मायाजाल’ टीमको विश्वास छ ।
कलाकार झलक पाली ‘झरना’ले यसपूर्व ‘के मान्नी है सौंराई’, ‘खोली गोगनको’, ‘जवानीको जोश’, ‘ज्योती जुनको’, ‘धुम मच्चाउछु’, ‘वन जङ्गल जोगाऔं’ लगायतका डेउडा, लोक गीत र डीजे प्याटर्नका गीति सिर्जना पस्किसकेका छन् ।
सुदूरपश्चिम साँस्कृतिक समाजका अध्यक्ष रहेका पाली राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेशका पूर्वसदस्य पनि हुन् ।
हेर्नुहोस् गीतको भिडिओ–













प्रतिक्रिया