
काठमाडौं, २७ असोज । कोशी प्रदेश खारेजीको माग गर्दै चलिरहेको आन्दोलनका क्रममा पक्राउ परेका पहिचानवादी नेता/कार्यकर्ताहरूलाई बिनाशर्त रिहाई गर्न पहिचान पक्षधर संघसंस्थाहरूले माग गरेका छन् ।
प्रदेश १ पुन: नामांकरण संयुक्त संघर्ष समिति, नेपाल आदिवासी जनजाति महासंघ लगायतका संघसंस्थाहरूले आज शनिबार प्रेस विज्ञप्ति जारी गरी पक्राउ परेका तीन जना पहिचान पक्षधर नेता/कार्यकर्तालाई भोलि (असोज २८ गते)सम्म नछाडेमा धनकुटा बन्द लगायतका आन्दोलनका कार्यक्रम गरिने उल्लेख गरिएको छ ।
असोज २५ गते झुठा आरोपमा धनुकटाको चौबिसेस्थित घरबाटै पहिचानवादी नेता/कार्यकर्ताहरू मनकुमार याम्फू, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीले बिना अभियोग, अदालतको आदेश वा कुनै जानकारीबिना नै व्यक्तिगत स्वतन्त्रता, मानवअधिकार र गोपनीयताको अधिकार समेतको उल्लंघन गर्दै घरबाटै अपहरण शैलीमा पक्राउ गरेको उल्लेख गरिएको छ ।
पक्राउ परेका तीनै जनालाई तत्काल छाड्न सोही दिन (असोज २५ गते) नै विज्ञप्तिमार्फत प्रशासनलाई जानकारी गराइएको र संयुक्त संघर्ष समितिले निरन्तर पहल गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । तर हालसम्म रिहाइ नभएको भन्दै असोज २८ गतेसम्म बिनाशर्त नछाडेका असोज २९ गतेदेखि अनिश्चितकालीन धनकुटा बन्द गरिने उल्लेख गरिएको छ ।
सोहीक्रममा आज संयुक्त संघर्ष समितिले इप्रका राजारानी घेराउ तथा धनकुटा बन्दबारे प्रचारप्रसार गरेको छ । त्यस्तै असोज २८ गते धनकुटामा विरोध कार्यक्रम गरिने, २९ गते सुनसरीको धरान–भेडेटार, बराहक्षेत्र, मोरङको लेटाङ सिंहदेवी हुँदै बुधबारे, पाँचथरको ६ नम्बर बुधबारे–रबि, तेह्रथुम भोजपुरबाट आउने सम्पूर्ण नाका बन्द गर्ने जनाएको छ ।
त्यस्तै विज्ञप्तिमा रिहाइ नगरेमा असोज ३० गतेदेखि अनिश्चितकालीन धनकुटा बन्द गरिने उल्लेख गरिएको छ ।
किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, पहिचान सहितको प्रदेश १ नं. पुन: नामांकन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पाले संयुक्त रुपमा विज्ञप्ती जारी गरी पक्राउ परेका तिनै जना पहिचान पक्षधर नेता/कार्यकर्तालाई यथासिघ्र बिनाशर्त रिहाई गर्न माग गरेका हुन् ।














प्रतिक्रिया