
सिन्धुली, २७ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशी प्रदेशमा सरकारबिहीनताको अवस्था रहन नदिन मुख्यमन्त्रीमा कांग्रेसका नेता केदार कार्कीलाई समर्थन गरिएको बताएका छन् ।
प्रेस चौतारी नेपाल सिन्धुली जिल्ला समितिले आज सिताराम पार्टी प्यालेस सिन्धुलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोशीमा ठूलो दलको हैसियतमा शासन गर्ने अधिकार नेकपा एमालेलाई भए पनि गठबन्धन दलहरूले सरकार ढालेर सरकारबिहीनतातर्फ धकेलेपछि कांग्रेसका केदार कार्कीलाई समर्थन गरेर मुख्यमन्त्री बनाएको बताएका हुन् ।
संविधानमा भएको व्यवस्था र सर्वोच्च अदालतले गरेको पटक–पटकको फैसलाका विभिन्न नजिरहरूका आधारमा कोशीमा नयाँ सरकार गठन भएको उनले बताए । यो सरकार गठन भएसँगै कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट रोक्न एमाले सफल भएको महासचिव पोखरेलको भनाइ छ । यद्यपि, मुख्यमन्त्री कार्की आफ्नो इमानमा चल्नुपर्ने उनले बताए ।
यस्तै, कोशीको मन्त्रिपरिषद्मा एमाले सहभागी हुने कुरा मुख्यमन्त्रीको व्यवहारमा भर पर्ने पनि पोखरेलले बताएका छन् । सरकार बनिनसक्दै फेरि भत्काउने चलखेल सुरू भएको बताउँदै उनले अब पनि सरकार असफल बनाएर प्रदेशलाई मध्यावधि निर्वाचनतर्फ धकेले त्यसको सम्पूर्ण जिम्मा गठबन्धन दलहरूले लिनुपर्ने भनाइ उनको थियो ।
वर्तमान सत्ता गठबन्धन असफल भएको परिप्रेक्ष्यमा कोशीले एउटा उदाहरण दिनुपर्ने भन्दै महासचिव पोखरेलले एमालेलाई सत्ताको चासो नभए पनि जनताको जनजीवीकाको चिन्ता रहेको स्पष्ट गरे । अहिले पनि जनताको समस्या समाधानमा सरकार केन्द्रित होस् र गठबन्धनले पूरा अवधि साशन गरोस् भन्ने एमालेको चाहना रहेको उनको भनाइ छ ।
एमाले आगामी निर्वाचनमा राम्रो परिणामा ल्याउने रणनीतिअनुरुप पार्टीका विभिन्न अभियानहरूमा केन्द्रित रहेकाले सत्तामा चासो नरहेको उनले प्रष्ट पारे ।













प्रतिक्रिया