
काठमाडौं, २६ असोज । संघीय संसद अन्तर्गत आज शुक्रबार दुवै सदनको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयको अनुसार राष्ट्रिय सभाको बैठक दिउँसो बिहान ११ः३१ बजे बस्नेछ भने प्रतिनिधि सभाको बैठक दिउँसो २ बजे बस्नेछ ।
सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापाले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७९/८९ को वार्षिक प्रतिवेदन’ सभा समक्ष प्रस्तुत गर्ने छिन् ।
सांसद रमेशजंग रायमाझीले राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समिति गठन सबन्धी प्रस्ताव प्रस्तुत गर्ने छन् । सांसद प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सबन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राइले ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०’ बैठक समक्ष प्रस्तुत गर्नेछन् ।
आजकै बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘विधानय सबन्धी विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
यसैगरी, दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नहरुको उत्तर सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने कार्यसूची रहेको छ ।
बैठकमा प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ‘राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन आ.व. २०७८/७९’, ‘राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन आ.व. २०७९/८०’ र ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौं वार्षिक प्रतिवदेन आ.व. २०७९/८०’ पेश गर्ने छन् ।
आजकै संसद् बैठकमा ऊर्जा, जलस्रोत तथा सिचाईँ मन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरुको अनुपस्थितिको सूचनाहरु सभाको स्वीकृतिको लागि पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।











प्रतिक्रिया