
विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसका आठ जना सांसदले पार्टी संसदीय दलको निर्णय अवज्ञा गरेका छन् ।
नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेलगत्तै कांग्रेसको शेखर कोइराला पक्षका सात जना सांसदले विद्रोह गरेका हुन् ।
उनीहरूको विद्रोसँगै नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री बन्ने भएका छन् । नेकपा एमालेको समर्थनमा उनले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी समेत गरिसकेका छन् । कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कार्की प्रमुख प्रमुखको कार्यालयमा पुगेका हुन् ।
उपसभामुखसहित एमालेका ४० सांसद छन् । बहुमतका लागि ४७ सांसद आवश्यक हुन्छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि हस्ताक्षर गर्दा सांसदलाई ह्वीप नलाग्ने र स्वतन्त्र हैसियत रहने सर्बोच्च अदालतको व्याख्या छ ।
यसैबीच, गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेश गरेका छन् । आज बिहीबार साँझ कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका प्रदेशसभा सदस्यहरुको समर्थनमा उनी प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।
उनलाइ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको समर्थन छ ।
यी हुन् केदारलाई साथ दिने कांग्रेस सांसद
मुख्यमन्त्रीका दाबी गर्ने कार्कीलाई कांग्रेस सांसदहरू उदयपुरका रामकुमार खत्री, इलामका शमशेर राई र गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र उदयपुरकै लीलाकुमारी राईले हस्ताक्षर गरेर साथ दिएका छन् ।
यस्तै, नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले उपनेताबाट राजीनामा दिएर कार्कीलाई समर्थन गरेका छन् ।













प्रतिक्रिया