
काठमाडौं, २२ असोज । संसद्मा प्रतिनिधित्व गर्ने दलहरुले इजरायल घटनाका बिषयमा सबै दलहरु एक रहेर सहकार्य गर्ने निष्कर्ष निकालेका छन् ।
आज सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीको आह्वानमा बसेको सर्वदलीय बैठकले दु:खको समयमा सत्तापक्ष, प्रतिपक्ष नभइकन नेपाली जनताको साझा दु:खमा एकैठाउँमा उभिएर सहकार्य गर्ने निष्कर्ष निकालेको हो ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले इजरायल घटनापछि नेपालीको अवस्था बुझ्ने काम भएको सुरक्षित स्थानमा लैजान काम सुरु भइसकेको र स्वदेश आउन चाहने नागरिकका लागि आवश्यक तयारी गरिएको जानकारी गराएका थिए ।
त्यस्तै बिभिन्न दलका नेताहरुले नेपाली नागरिकको उद्धार र मृतकको शव छिटो भन्दा छिटो ल्याउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
बैठकपछि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकार सन्तुलन ढंगले प्रस्तुत भएर उद्दारका काम गर्न सुझाव दिएको बताए भने नेपाली कांग्रेसका नेता रमेश लेखकले जोखिममा रहेका नेपालीहरुलाई सुरक्षित ठाउँमा राख्न सरकारले पहलकदमी गर्ने र मृत्युवरण गरेकाको शव छिटो देशभित्र झिकाएर परिवारलाई बुझाउने काम गर्न आग्रह गरिएको बताए ।
यस्तै, माओवादी केन्द्रका नेता हितराज पाण्डले बैठकमा प्रधानमन्त्रीले सरकारले गरेको निर्णयका बारेमा जानकारी गराएको बताए । उनले प्रभावकारी रुपमा नेपालीहरुको उद्दारको व्यवस्था गर्न सरकारलाई दलहरुले सुझाव दिएको जानकारी दिए ।
बैठकमा दलका प्रतिनिधिहरुले सरकारले गरेका निर्णयको कार्यान्वयनमा जोड दिनुपर्ने र आधिकारीक स्थानबाट सहि सुचना प्रवाह गर्नुपर्नेमा पनि जोड दिएका छन् ।













प्रतिक्रिया