२८ आश्विन २०८३, बुधबार

मिसन ०८४ सफल पार्न जनवर्गीय संगठनले महत्वपूर्ण भूमिका खेल्नुपर्छ : भानुभक्त ढकाल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, २१ असोज । नेकपा एमालेका स्थायी कमिटी सखस्य एवम् जनसंगठन संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टीले लिएको मिसन २०८४ सफल पार्न जनवर्गीय संगठनहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् ।

नेकपा एमाले बाँके जिल्ला स्कुल विभागको आयोजनामा सञ्चालित तीन दिने स्कुलको आज आइतबार समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मिसन २०८४ मा एमाले पार्टी कमिटीको जति भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनवर्गीय संगठनले निर्वाह गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा उनले जनवर्गीय संगठन सञ्चालनका नीति निर्देशन तथा व्यावहारिक पक्षमा प्रस्तुती दिएका थिए । त्यस क्रममा उनले पार्टीका मुल रणनीति तथा कार्यक्रमका साथै विभिन्न मिसन हुने बताउँदै ती मिसन सफल बनाउनका लागि निश्चित अभियानअन्तर्गत यो स्कुल पनि एक अभियान भएको बताए ।

एमाले पार्टी स्कुलमा जिल्लाका ८ वटै पालिकाका पदाधिकारीहरूको सहभागिता थियो । यही १९ गतेदेखि सञ्चालन भएको सो पार्टी स्कूलको उद्घाटन एमालेका केन्द्रीय स्कूल विभागका प्रमुख तथा केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली गरेका थिए ।

उद्घाटनका क्रममा उपमहासचिव ज्ञवालीले बाँके जिल्लाले सुरुवात गरेको स्कूल हालसम्म लुम्बिनी प्रदेशमा पहिलो भएको भन्दै यो अभियान निरन्तर रुपमा सञ्चालन गर्नुपर्ने बताएका थिए । उनले मार्क्सवादी दर्शन र जनताको बहुदलीय जनवादका विषयमा प्रस्तुति दिएका थिए ।

पार्टी स्कुलमा एमाले पोलिटव्यूरो सदस्य, खेममान खड्का, लुम्बिनी प्रदेश स्कुलका संयोजक लक्ष्मण ज्ञवाली, केन्द्रीय सदस्यहरु, सूर्य ढकाल, केन्द्रीय लेखा आयोगका सदस्य विजया धिताल, प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेल, उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपति, स्कुल विभाग प्रमुख एवम उपाध्यक्ष डिल्ली बीसी र सचिव रत्न खत्रीलगायतकाको प्रस्तुति रहेको थियो ।

हरेक दिनको स्कूलको मूल्याङ्कन केन्द्रीय सदस्य हारुन हलुवाई, शान्ति ढकाल र केन्द्रीय अनुसान आयोगका सदस्य देवराज भारले गरेका थिए ।

तीन दिनसम्म पार्टीका दर्शन, नीति, कार्यक्रम, अभियान र राजकीय शासन सञ्चालनका विषयमा यसरी गहन रुपमा स्कुल सञ्चालन हुने नेकपा एमाले मात्रै भएको विभागीय प्रमुख बीसीले बताए । उनका अनुसार स्कुलमा जनताको बहुदलीय जनवाद (जबज) जनसंगठन सञ्चालन, परिचालन र कार्यक्रम, महाधिवेसनबाट पारित राजनीतिक कार्यक्रम, कार्यदिशा, समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा, आर्थिक व्यवस्था र प्रणाली, लेलिनवादी संगठनात्मक सिद्धान्त (जनवाद र केन्द्रीयता), सूचना प्रविधि, संचारको प्रयोग र उपयोग, विधान र यसका प्रावधानका विषयमा स्कुल सञ्चालन भएको थियो ।

स्कुलमा हरेक विषयको प्रस्तुति र त्यसै प्रस्तुतिमा अन्तरक्रिया समेत गरिएको थियो ।