२८ आश्विन २०८३, बुधबार

वर्तमान सरकारबाट देशको रक्षा हुन सक्दैन, उनीहरू कुर्सीको रक्षामै लिप्त छन् : केपी ओली

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २१ असोज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट देशको रक्षा हुन नसक्ने बताएका छन् ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले वर्तमान सरकारका प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो कुर्सी जोगाउनमै व्यस्त रहेकाले मुलुकको रक्षा हुन नसक्ने बताएका हुन् ।

एमाले नेतृत्वको सरकारपछि अर्थतन्त्र झनझन ओरालो लागेको भन्दै अध्यक्ष ओलीले थप बिग्रन दिन नहुने बताएका छन् । उनले अहिलेको गठबन्धन बनेपछि मुलुकको अर्थतन्त्र ओरालो लागेको र हिंसा बढेको समेत बताएका छन् ।

‘नेकपा एमालेले सरकार छाडेपछि अर्थतन्त्र ओरालो लाग्यो । हिंसा बढिरहेको छ । सात प्रतिशतभन्दा माथि पुर्‍याइएको अर्थतन्त्रको सूचक यो गठबन्धनले दुई प्रतिशतभन्दा तल झारिसकेको छ । देश अप्ठेरो अवस्थामा पुगेको छ । अझै अप्ठेरो अवस्थामा पुर्‍याउन दिनुहुँदैन,’ अध्यक्ष ओलीले भने ।

अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेश विकासका दृष्टिकोणले पछाडि परेको भन्दै प्रदेशलाई आधुनिक, विकसित र समृद्ध बनाउन एमालेले दृढ चाहना राखेको स्पष्ट गरे । प्रदेश अधिवेशनमार्फत आउने नयाँ नेतृत्वबाट सुदूरपश्चिम प्रदेशमा रहेका समस्याहरू हल गर्न सक्नुपर्ने उनको भनाइ छ ।