
काठमाडौं, २१ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बीआरआईमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजना गरिएको बीआरआईको एक दशक : व्यापार, लगानी र सम्पर्क सञ्जाल” बिषयक सेमिनार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बिआरआई परियोजना अघि बढाउन केही ढिलाइ भएपनि यसमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध रहेको बताएका हुन् ।
कार्यान्वयन योग्य परियोजना छनोट र कार्यान्वयन हुनेगरी बिआरआई सम्बन्धी विकास निर्माणका परियोजना अगाडि बढाउने सरकारको स्पष्ट धारणा रहेको उनको भनाइ छ । कोभिड महामारी, हाम्रा प्रणाली र संरचनागत सीमाहहरुका कारण बिआरआई परियोजनामा ढिलाई भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले बिआरआई परियोजना कार्यान्वयनमार्फत विकास र समृद्धिलाई तीव्रता दिन चाहेको जिकिर गरे ।
प्रधानमन्त्रीले चिनियाँ पक्षले पनि लगानी सम्बन्धी आफ्नो नीतिमा पुनर्विचार गर्दै कतिपय परियोजनाहरूका सन्दर्भमा नेपालका लागि अनुदान र सहायताको नीति लिने विश्वास व्यक्त गरे । प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा भएका १३ वटा विभिन्न समझदारी र सम्झौता एवं संयुक्त वक्तव्यमा उल्लेख भएका समझदारीले नेपाल र चीनबीचको आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने दावी गरे ।
त्यस्तै उनले नेपाल विगतदेखि नै एक चीन नीतिको पक्षमा दृढ रहँदै आएको र वर्तमान र भविष्यमा समेत एक चीन नीतिप्रति दृढ रहने स्पष्ट पारे ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सङले बिआरआईमा आधारित परियोजनालाई नेपालको बिभिन्न क्षेत्रमा सफल कार्यान्वयनका लागि चीनले आवश्यक सहयोग गर्ने बताए । स्थानीय विकासका लागि बिआरआई निकै महत्वपूर्ण देखिएको उनको भनाइ छ ।
बिआरआईका बारेमा जनतालाई सहि सूचना दिएर यसलाई नेपाल सरकारले अघि बढाउने विश्वास व्यक्त गरे । राजदूतले बिभिन्न क्षेत्रमा आर्थिक लगायतका क्षेत्रको विकासका लागि चीनको सदैव सकारात्मक सहयोग निरन्तर हुने जिकिर गरे ।















प्रतिक्रिया