
काठमाडौं, २० असोज । नेकपा (एमाले)का नेता विष्णु रिजालले ‘ठूलालाई चैन, सानालाई ऐन’ भन्ने भनाइलाई चरितार्थ गर्दै पहुँचवाला अपराधीहरुलाई धमाधम माफी–मिनाहा दिँदै जाँदा राजनाीतिमा थप अपराधीकरण बढेको बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् । ‘रेशम चौधरी र रिगल ढकाल प्रकरणले सत्ता गठबन्धनको मुकुण्डो नराम्ररी च्यातेको छ । सत्ता र शक्ति हुने हो भने मान्छे मारे पनि, अदालतबाट प्रमाणित भए पनि जेल बस्नु पर्दैन भन्ने कुरा स्थापित गर्दा कानुनी राज्य बलियो होला र ? कम्तीमा अपराध प्रमाणित भइसकेकाहरुको हकमा त पार्टीलाई अलग राख्नुपर्ने होइन र ?’ नेता रिजालले प्रश्न गर्दै भनेका छन् ।
हत्या अभियोगमा दोषी ठहर भई जन्मकैदको सजाय पाएका नेपालगञ्जका गुण्डानाइके योग ढकाल ‘रिगल’लाई संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सजाय माफी मिनाहा गरेका थिए ।
त्यसअघि गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले टीकापुर हत्याकाण्डका योजनाकार रेशम चौधरीलाई पनि आममाफी दिएर जेल मुक्त गराएका थिए ।
पछिल्लो समय सरकारको सिफारिसमा राष्ट्रपतिले चालेका कदमको चौतर्फी आलोचना भइरहेको छ ।











प्रतिक्रिया