७ कार्तिक २०८३, शनिबार

रविले राष्ट्रपतिलाई भेटेर भने– आममाफी व्यवस्थाको गलत प्रयोग हुँदै आएको छ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित रास्वपाका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर हत्या आरोपी गुण्डा नाइकेलाई आममाफी दिएकामा आपत्ति जनाउँदै ध्यानाकर्षण पत्र बुझाएका छन् ।

संविधान दिवसको अवसरमा तरूण दलका नेतासमेत रहेका बाँकेका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई आममाफी दिएकामा रास्वपाका नेताहरूले आपत्ति जनाएका हुन् ।

सरकारको सिफारिस अनुसार सजाय माफी, मुलतबी, परिवर्तन वा कम गर्न सकिने व्यवस्थाको विगतदेखि नै गलत प्रयोग हुँदै आएको रास्वपाले राष्ट्रपतिलाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

‘संविधान दिवस २०८० को अवसरमा मन्त्रिपरिषद्को सिफारिस बमोजिम सम्माननीय राष्ट्रपति ज्यू यहाँले ६७० कैदीको बाँकी सजाय मिनाह गर्नुभयो । यहाँ स्वयंले केहीको नाम काटेर सरकारको सिफारिस कार्यान्वयन गर्नुभएको चर्चा भएपनि माफी मिनाहको सूचीमा परेका बाँकेका रिगल भनिने योगराज ढकाल, बाँकेकै चेतन मानन्धरको हत्या अभियोगमा २०७५ वैशाखमा जन्मकैदको सजाय पाएका तरुण दलका स्थानीय नेता ढकाललाई कैदमुक्त गराउन सरकारको गरेको सिफारिस कानूनको अभिष्ट विपरीत भएको तथ्य स्पष्ट छ,’ ध्यानाकर्षणपत्रमा भनिएको छ ।