२७ कार्तिक २०८३, शुक्रबार

प्रतिनिधि सभा बैठक बस्दै, अवरुद्ध गर्ने एमालेको तयारी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ । गत भदौ २९ गते शुक्रबार बसेपछि स्थगित बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा स्थित संघीय संसद भवनमा बस्न लागेको हो ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

यसैगरी, बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

बैठकमा “विद्यालय शिक्षा विधेयक, २०८०” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।

आजकै बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले “विद्यालय शिक्षा विधेयक, २०८०” पेश गर्ने कार्यसूची रहेको छ । तर आजको बैठक अवरुद्ध हुने देखिएको छ । सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति आयोग बनाउन सरकारले आनाकानी गरे पछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदमा विरोध जनाउने तयारी गरेको छ ।

एमालेका सचेतक महेश बर्तौलाले संसद बैठकमा असोज ५ गते भित्र गठन गर्ने भनिएको समिति नबनाएको भन्दै आजको बैठकको काम कारबाही अवरोध हुने संकेत गरेका छन् ।

हिजो शनिबार फेसबुकमा लेख्दै सचेतक बर्तौलाले सरकारले संसदको बैठकलाई द्वन्द्व र मुडभेटतर्फ धकेल्न चाहेको र मुलुकको समग्र राजनीतिलाई अविस्वास, धोकाधडी र आपसी अन्तरविरोधको पथमा लैजाने खोजेको बताएका छन् ।

‘सुन तस्करीको सम्बन्धमा उच्चस्तरीय छानबिन तथा अनुसन्धानको लागी उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भयो । त्यो सहमतिलाई संसदको बैठकले अनुमोदन पनि गर्‍यो तर त्यसलाई कार्यान्वयन गर्न सरकार तयार भएन । बरु उल्टै अनेकौं बहानबाजी गर्दै प्रमुख प्रतिपक्षी माथी मिथ्या भ्रम छर्न दिउँसै रात पार्ने प्रपंच चलिरह्यो ।’ सचेतक बर्तौलाले भनेका छन् ।

उनले असोज ५ पछि धेरै दिनहरू बितिसकेको तर आयोग नबनेको बताए । उनले सहमतिप्रति सरकारले धोका दिएको र सरकारले दिएको धोकाको सावाँ र ब्याज सहितको समग्र हिसाबकिताब संसदको बैठकमा हुने जनाएका छन् ।

सचेतक बर्तौलाले संवाद र छलफल मार्फत समस्याको समाधानको लागि एमालेको ढोका भने बन्द नहुने पनि उल्लेख गरेका छन् ।