
काठमाडौं, १२ असोज । नेपाली फुटबल निरन्तर ओरालो बाटोमा लागिरहेको छ ।
सरकारले खेलाडीको हकहितमा काम गर्न नसक्दा र नेपालमा खेलेर जिविकोपार्जन गर्न हम्मे परेपछि खेलाडीहरू धमाधम विदेश पलायन भइरहेका छन्।
पछिल्लो समयमा करिब तीन दर्जन फुटबलरहरु विदेश पलायन भइसकेका छन् । यसैबीच नेपाली राष्ट्रिय फुटबल टीमका मियो रहेका विमल घर्तीमगर पनि विदेश पलायन भएका छन् । उनी अष्ट्रेलिया पलायन भएका हुन् ।
उनीभन्दा अघि दिनेश राजवंशी, अभिषेक रिजाल, हेमन्त थापामगर, निशान खड्का, रवि पासवान लगायत चर्चित खेलाडीहरू विदेश पलायन भइसकेका छन् । पलायन भएका फुटबल खेलाडीमध्ये विमल टीमकै महत्वपूर्ण खेलाडी हुन् । उनको अभावले नेपाली फुटबललाई ठूलै धक्का लागेको छ ।
उनी राष्ट्रिय टीमका प्रमुख फरवार्डका रुपमा रहेका थिए । उनी सबैभन्दा कम उमेरमा नेपालको राष्ट्रिय टीमबाट डेब्यू गर्ने खेलाडी हुन् । साथै, राष्ट्रिय टीमबाट सबैभन्दा कम उमेरमा गोल गर्ने किर्तिमान पनि उनको नाममा छ ।
विमलले १४ वर्षको उमेरमा डेब्यू गरेका थिए भने १५ वर्षमा पहिलो गोल गरेका थिए । राष्ट्रिय टीमबाट अहिलेसम्म उनले ९ गोल गरेका छन् । एन्फा एकेडेमीका उत्पादन विमलले नेपालका लागि ४० क्याप जितेका छन्।















प्रतिक्रिया