
काठमाडौं, १२ असोज । नेकपा (एमाले) बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि बिहान ११ बजेबाट मतदान हुने भएको छ ।

आज बिहान ८ बजेबाट हुने भनिएको मतदान बिहान ११ बजेबाट एमालेको मुख्यालय च्यासलमा सुरु हुन लागेको निर्वाचन समितिका प्रमुख अधिवक्ता डिल्ली मैनालीले बताए ।

उनका अनुसार अहिले निर्वाचनको लागि विद्युतीय मेसिनमा उम्मेदवारहरको नाम प्रविष्ट गर्ने कार्य भइरहेको छ । उनले प्रदेश अध्यक्षका लागि दुईजनाको मात्र उम्मेदवारी कायम रहेको बताए ।
अध्यक्षका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
यसअघि अध्यक्षमा उम्मेदवारी दिएका नुवाकोटका केशवराज पाण्डे, काठमाडौंका सानुकुमार श्रेष्ठ र रामेछापका केशबहादुर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका छन् ।

गत असोज ८ गतेबाट सुरु भएको अधिवेशनमा नेतृत्व चयनका लागि सहमतिको प्रयास गरिएपनि सहमति हुन नसकेपछि आज मतदान हुन लागेको हो ।













प्रतिक्रिया