
खोटाङ, १२ असोज । रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका सुमो चालक नवराज आचार्यको शव शंकास्पद अवस्थामा फेला परेको छ ।
यात्रुवाहक सुमो ऐसेलुखर्क–काठमाडौं ओहोरदोहोर गराउँदै आएका ३३ वर्षीय चालक आचार्यको शव बिहीबार सोही गाउँपालिकाको वडा नं ३ ऐसेलुखर्क बजारस्थित त्रिभुवन माध्यमिक विद्यालयको गेट (प्रवेशद्वार) नजिकै मृत फेला परेको हो ।
चालक आचार्यको शव भेटिएको ठाउँको प्रकृति हेर्दा शंकास्पद अवस्था देखिएको डुम्रेधारापानीका वडाध्यक्ष ज्ञानुराज पाण्डेले जानकारी दिएका छन् । ‘आचार्यको शव वडा कार्यालय जाने बाटोको डिलमुनि खसेर घोप्टो परेको, मुन्टो भाँचिएको, दुई हात दुईवटा काठको मुढोले किचेको अवस्थामा फेला परेको छ’, उनले भने, ‘आचार्यको साथमा मोबाइल र बेल्टमा बाँधिएको गाडीको चाबीसमेत भेटिएको छ । यस विषयमा गहिरो अनुसन्धान गर्नुपर्ने अवस्था देखिएको छ ।’
बुधबार बेलुकाको खाना खाएर कोठा जानेक्रममा डिलमा राखिएको काठको मुढोसँगै खसेर आचार्यको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रहरी निरीक्षक हरि बरालले बताए । ‘मृतकका आफन्त घटनास्थलमा आइपुगेका छैनन् । उनीहरू आइपुगेपछि मात्रै उनको शव परीक्षण गर्ने कुरा भएको छ’, उनले भने, ‘घटनाबारे प्रहरीले गर्ने अनुसन्धान भइरहेको छ । अहिले नै केही भन्न सकिने अवस्था छैन ।’
दुई छोराका बुबा सुमो चालक आचार्यको मृत्यु भएको खबर पाएपछि उनका आफन्तहरू काठमाडौंबाट घटनास्थल आउँदै गरेको जनाइएको छ । घटनास्थलको प्रमाण सुरक्षित राख्न आचार्यको शव वरिपरि प्रहरीले घेरा हालेर राखेको छ ।











प्रतिक्रिया