२९ आश्विन २०८३, बिहिबार

निर्वाचनमा प्रतिस्पर्धा स्वाभाविक हो, पार्टीलाई एकढिक्का बनाउनुपर्छ : पद्मा अर्याल

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ११ असोज । नेकपा एमालेकी सचिव एवम् लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा कुमारी अर्यालले पार्टीको आन्तरिक जीवनमा हुने प्रतिस्पर्धा स्वाभाविक भएको बताएकी छिन् ।

एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो पूर्ण बैठकलाई आज बुटवलमा सम्बोधन गर्दै उनले पार्टी कमिटीको अधिवेशनमा भएको प्रतिस्पर्धालाई स्वाभाविक ठानेर प्रतिस्पर्धाबाट उत्पन्न मनोविज्ञानको अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताएकी हुन् ।

अहिलेको कमिटीले आगामी संघ, प्रदेश र स्थानीय तहको चुनाव गराउने र पार्टीको ११औं महाधिवेशन गराउने भएकाले विशेष जिम्मेवारीका साथ काम गर्न र सबै खालका जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नेगरी योजना बनाउन पनि उनीले निर्देशन दिएकी छिन् । ‘निर्वाचनका बेला प्रतिस्पर्धा स्वाभाविक हो भन्ने वातावरण गराउने हो, विधानको प्रयोग गराउनुस् । व्यक्तिलाई केन्द्र मानेर विधान नमिच्नुस् । अवैधानिक कमिटी सूचना पाएको अर्को दिन भङ्ग गरिनेछ । हरेकसँग विधान र नियमावलीका दस्तावेज हुनुपर्‍यो, कमिटीको महत्व र जिम्मेवारी नहुँदा चाहियो भन्ने काम गर्दा लैजा भन्ने कुरा अराजकता हो,’ उनले भनिन् ।

जनतामा एमालेले भनेजस्तो, सोचेजस्तो काम गरेन भन्ने गुनासो बढेको विषयलाई ध्यान दिँदै यसलाई व्यवहारबाटै जवाफ दिन सक्नुपर्ने बताउँदै सचिव अर्यालले भनिन्, ‘अगुवा हुनुको कारण विचार, व्यवहार सबैमा नेतृत्व गर्नुपर्‍र्यो । पार्टीमा फुर्सद भएको हैन, भिजन र विचार भएको व्यक्ति हुन आवश्यक हुन्छ । हाम्रो व्यवहारले पार्टी खुम्चने होइन, फस्टाउने हुनुपर्‍यो ।’

पार्टीका जिम्मेवारीमा बसेकाहरूको आचरण सुधार गर्नुपर्ने उनको भनाइ छ । ‘कम्युनिष्ट पार्टीका कार्यकर्ता नेताको आचरण ठिक हुनुपर्दैन ? कमिटी चलाएर मात्र नेता भइँदैन । साँझ फोन गरेर हुन्छ ? वैचारिक हिसाबले हामी स्पष्ट हुनुपर्छ । ज्ञान, विचार भएन भने के हुन्छ ? विचारका कारण हामीलाई काम गर्ने जाँगर आउँछ । राजनीति व्यापार होइन, यो सेवा हो । मार्क्सवाद, जनताको वहुदलीय जनवाद, राजनीतिक कार्यदिशा के हो जान्नुपर्‍यो,’ उनले भनिन् ।

नेतृ अर्यालले निर्णय कार्यान्वयनमा एकरूपता, संगठनात्मक चुस्तता बनाउँदै समुदायका एजेण्डा र नागरिकका समस्यामा सहभागिता हुनेगरी पार्टीका योजना बनाउनुपर्ने बताउँदै पार्टी कमिटी चल्ने, अनुशासित बनाउने, क्षमता विस्तार गर्ने अबको दायित्व र जिम्मेवारी लिनुपर्ने स्पष्ट गरिन् ।

लुम्बिनीका नवनिर्वाचित अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा बसेको बैठकले अधिवेशनको समीक्षा गर्दै सचिवालय गठन, विभागीय जिम्मेवारी बाँडफाँड, जनसंगठनको भेला, पार्टी इतिहास लेखन र स्कुल विभाग सञ्चालन तथा कार्यालय व्यवस्थापनका विषयमा टुंगो लगाएको प्रचार विभाग प्रमुख डीआर घिमिरेले जानकारी दिए ।