
काठमाडौं, १० असोज । काठमाडौं महानगरपालिका र आन्दोलनरत अभियन्ता ई: बीच सहमति भएको छ ।
बुधबार बेलुका भएको वार्तामा उनीहरुबीच चार बुँदे सहमति भएको हो । सहमति भएसँगै ई: ले आन्दोलनका कार्यक्रमहरु स्थगित गरेका छन् ।
सहमतिअनुसार फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरु महानगरले सम्बन्धित धनी यकिन गरी फिर्ता दिइने लगायत रहेका छन् ।
यी हुन् बुधबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू-
१. जुट्यो सहमति : काठमाडौं महानगरपालिकाका र आन्दोलनरत अभियन्ता ई: बीच जुट्यो सहमति, ई: ले गरे आन्दोलन स्थगित ।
२. भ्रमण सफल भयो : चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दाबी, राष्ट्रिपति सि चिनफिङ र चीनका प्रधानमन्त्रीसँग सौहार्दपूर्ण छलफल भई नेपालको हितमा विभिन्न समझदारीहरु गर्नुले चीनले नेपाललाई विशेष महत्वका साथ हेरेको पुष्टि भएको भनाइ ।
३. एमालेमाथि अनेक हतकण्डा : विरोधीहरूले एमालेलाई घेराबन्दीमा पारेर अनेक हतकण्डा अपनाएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, एमाले घेराबन्दीलाई तोडेर अघि बढ्न सक्षम रहेको बताउँदै त्यसको लागि एमालेले मिसन २०८४ को अभियान सुरु गरेको स्पष्टोक्ति ।
४. अब २० केजी ल्याउन पाउने : नेपाल राष्ट्र बैंकले दैनिक ल्याउन पाउने सुनको कोटा बढायो, यसअघि दैनिक दश किलो मात्रै ल्याउन पाउनेमा त्यसलाई बढाएर २० केजी पुर्याइयो ।
५. एमसीसीकी सिईओ आउँदै : एमसीसीकी प्रमुख कार्यकारी अधिकृत सीईओ एलीस पी। अलब्राइट यही असोज १४ गते नेपाल आउने, एमसीसीमा भएका प्रगति र समस्याहरुको बारेमा ब्रिफिङ लिने तथा एमसीसी परियोजनाको केही फिल्ड अवलोकन गर्ने कार्यक्रम ।
६. आक्रमण गर्नेलाई कारबाही हुने : चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने सरकारको निर्णय, कारबाहीका लागि मातहतका निकायलाई निर्देशन दिने ।
७. सरकारमाथि आरोप : चिकित्सकहरूमाथि आक्रमण गर्नेहरूलाई सरकारले नै सरंक्षण गरेको नेकपा एमालेको आरोप, विभिन्न बहानामा प्रशासनबाट कुनै कारबाही नहुने भएपछि अपराधीको मनोबल स्वत बढेको र स्वास्थ्यकर्मीहरूमाथि हमला भइरहेको धारणा ।
८. बहुमतको आश : २०८४ को चुनावमा एमालेले बहुमत ल्याउने गरी अघि बढ्ने एमाले महासचिव शंकर पोखरेलको भनाइ, एमालेको प्राथमिकता अहिले सरकारभन्दा पनि मुलुकको हित रहेको धारणा ।
९. अधिवेशन सुरू : नेकपा एमाले कर्णाली प्रदेश अधिवेशन सुर्खेतमा सुरू, पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरे उद्घाटन ।
१०. उम्मेदवारी दर्ता : एमाले बागमती अधिवेशनमा अध्यक्ष र सचिवमा ४/४ जनाको उम्मेदवारी, अध्यक्षका लागि कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, सानु श्रेष्ठ र केशरबहादुर बुढाथोकी दर्ता गराए उम्मेदवारी ।
११. मधेशमा सार्वजनिक बिदा : मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा, पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको जानकारी ।
१२. जिल्ला सभापतिद्वरा राजीनामा : संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले पदबाट दिए राजीनामा, आफू प्रतिनिधि सभाको सदस्य रहेको र प्रतिनिधिसभाको गतिविधिमा संलग्न हुनुपर्ने भएका कारण पार्टीको काममा समय दिन नसकेको स्पष्टोक्ति ।
१३. प्रहरी सम्पर्कविहीन : नेपाल प्रहरीका २२ जना लामो समयबाट प्रहरी प्रधान कार्यालयको सम्पर्क बाहिर, सात दिनभित्र सम्पर्कमा आउन प्रधान कार्यालयको निर्देशन ।
१४. भारतको चुनौती : शिख पृथकतावादी नेताको हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न भारतले क्यानडालाई दियो चुनौती, हत्यासम्बन्धमा क्यानडाले उपलब्ध गराउने कुनै पनि विशेष सूचनामा आधारित भएर अनसुन्धान अघि बढाउन भारत तत्पर रहेको स्पष्ट ।
१५. कीर्तिमानको ओइरो : चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत मंगोलियासँग भएको पुरुष क्रिकेट प्रतियोगितामा नेपालको नाममा कीर्तिमानको ओइरो, सर्वाधिक ३१४ रन बनाउने कीर्तिमान नेपालको पोल्टामा, सर्वाधिक छक्काको कीर्तिमान पनि राख्न सफल ।















प्रतिक्रिया