
काठमाडौं, १० असोज । नेकपा एमालेले चिकित्सकमाथि सांघातिक आक्रमण गर्नेलाई सरकारले नै संरक्षण गरेको बताउँदै घटनाको निन्दा गरेको छ ।
एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख कृष्ण गोपाल श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्था र चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि निरन्तर भइरहेको दुर्व्यवहार, आक्रमण र तोडफोडको निन्दा गरेका हुन् ।
स्वास्थ्य सेवा मानवीय सम्वेदनासँग प्रत्यक्ष जोडिएको अत्यावश्यक सेवा रहेको उल्लेख गर्दै श्रेष्ठले जोखिम मोलेर बिरामीको सेवामा जुटिरहेका चिकित्सक लगायत स्वास्थ्यकर्मीलाई श्रृंखलाबद्ध सांघातिक हमला हुनुमा प्रशासन नै जिम्मेवार रहेको बताएका हुन । विभिन्न बहानामा प्रशासनबाट कुनै कारबाही नहुने भएपछि अपराधीको मनोबल स्वत बढेको बताउँदै श्रेष्ठले स्वास्थ्यकर्मीहरू माथि यस्तो प्रकृतिका सांघातिक हमला यो पहिलो नभएको स्मरण गराएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा, कंचनपुर, लमजुङ, चितवन, मणिपाल अस्पताल पोखरा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत देशका विभिन्न स्वास्थ्य संस्थाहरूमा निरन्तर सांघातिक हमला भइरहेको र गृहप्रशासनले दोषीहरूलाई कानुनी कारबाही गर्नुभन्दा दोषीलाई संरक्षण दिने काम गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विगतमा भएका चिकित्सक लगायत पेशागत संघ संगठनसँग भएका सम्झौता र प्रतिबद्धताहरू हालसम्म कार्यान्वयनसमेत नभएको बताउँदै एमालेले उल्टै अपराधीहरूलाई सत्ताको आडमा राजनीतिक संरक्षण दिई कानुनी राज्यको उपहास गरिएको बताएको छ ।
अपराधीलाई कानुनी कारवाही नगर्ने जिम्मेवार पदाधिकारीलाई समेत कारवाही गर्न गृहप्रशासनको ध्यानाकर्षण गराउँदै एमालेले कारबाही नभएमा यसबाट स्वास्थ्य क्षेत्रमा आउनसक्ने गम्भीर असरको जिम्मेवार सरकार स्वयं हुने कुरामा सचेत गराएको छ ।
















प्रतिक्रिया