२७ कार्तिक २०८३, शुक्रबार

जिब्रो छेडेर मध्यपुरथिमिदेखि पशुपतिनाथसम्मको यात्रा गरिने

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

भक्तपुर, १० असोज । आगामी शुक्रबार येँया पुन्हिको दिन मध्यपुरथिमिको लाय्कु दरबार परिसरमा जिब्रो छेडेर थिमिदेखि पशुपति मन्दिरसम्मको यात्रा गरिने भएको छ ।

मंगलबार मध्यपुरथिमि नगरपालिकामा आयोजना गरिएको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमिको ऐतिहासिक एवं धार्मिक र सांस्कृतिक महत्त्व बोकेको यो जात्रालाई सहजरूपमा सम्पन्न गर्न नगरवासीमा आह्वान गरे ।

उनले तीन सय ५० वर्षभन्दा अगाडिदेखि जिब्रो छेडिँदै आएको यो जात्रालाई निरन्तरता दिन र यस वर्षको जात्रा सहजरूपमा सम्पन्न गर्न नगरपालिकाले आवश्यक सबै सहयोग गर्ने बताए ।  नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुरथिमिको ऐतिहासिक पहिचानलाई यो जात्राले विश्वमाझ फैलिने भन्दै धेरै जोखिमका बीच हुने जात्रालाई सहजरूपमा सम्पन्न गर्नुपर्ने बताए ।

जात्रा हेर्न र थिमिदेखि पशुपतिसम्मका यात्रामा साथ दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पनि सहभागिता रहने निश्चित भएको उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा जिब्रो छेडाउन तयार रहेका मध्यपुरथिमि नगरपालिका–५ चोडेटोल निवासी बालकराम नानीचा श्रेष्ठले आश्विन शुक्ल पूर्णिमाको दिन साँझ ७ बजे हजारौँ जनमानसका अगाडि तीनवटा सियो भएको सुइरोले जिब्रो छेडाएर ४० किलोको महाद्वीप बोकेर थिमिदेखि पशुपतिसम्मको यात्रा गर्ने बताए ।

उनले भने, “यस पटक म इतिहास रच्ने पक्षमा छु, यसअघि पहिलोपटक २०७५ सालमा जिब्रो छेडेर थिमि घुमेको थिएँ, यस वर्ष पशुपतिसम्मको यात्रा पूरा गर्ने आँट गरेको छु, माता बालकुमारीकोे शक्तिले त्यो यात्रा पूरा गर्नेछु ।” दिगुटोलस्थित दिगु भैरव मन्दिर अगाडि बनाइएको मञ्चमा हजारौँ स्थानीयवासीका अगाडि जिब्रो छेडिने भएको हो ।

जात्राका लागि गठन भएको येया पुनिहया मेंयः तवनेगु जात्रा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रभक्त श्रेष्ठले पशुपति जाने र आउने गरी १७ किलो मिटरसम्म जिब्रो छेडेर ४० किलो तौलको महाद्वीप बोकेर मध्यपुरथिमिबाट गुहेश्वरी हुँदै पशुपति मन्दिरभित्र प्रवेश गरी दर्शन गर्दै पुनः मध्यपुरथिमिको बालकुमारी आएर सुइरो निकाल्ने गरी तयारी गरिएको बताए ।

पत्रकार सम्मेलनमा उनले ऐतिहासिक यो जात्रा विसं २०२६ देखि लोप भए पनि विसं २०५० देखि मध्यपुरथिमि चोडे टोल निवासी कृष्णनानी श्रेष्ठले तीन पटक जिब्रो छेडाएर जात्रालाई पुनर्जीवन दिएको बताए । त्यसपछि विसं २०६३ देखि सञ्चालन हुन नसकेकोमा विसं २०७४ मा मध्यपुरथिमि–४, बालकुमारी निवासी वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाएको उनले जानकारी दिए ।