
काठमाडों, ९ असोज । नेपाली कांग्रेसले विद्यालय शिक्षासम्बन्धी विधेयकका सन्दर्भमा सरोकारवाला निकायसँग छलफल गरेको छ ।
आज मंगलबार संसद भवन नयाँ बानेश्वरमा कांग्रेस संसदीय दलले प्रतिनिधिसभा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक र शिक्षकसँगको सहमतिलगायतका विषयमा सरोकार भएका पक्षसँग छलफल गरेको हो ।
छलफलका क्रममा शिक्षाका क्षेत्रमा काम गरिरहेका २० संस्थाहरूले धारणा राखेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । प्रमुख सचेतक लेखकले सरोकारवालाको सुझावका आधारमा विधेयकलाई परिमार्जन गराउन आफ्नो दलले भूमिका खेल्ने बताए ।
भोलि बुधबार विद्यालय शिक्षासम्बन्धी विधेयकका सन्दर्भमा बिशेषज्ञ र विधेयक निर्मणका क्रममा सहभागी विज्ञहरूसंग छलफल गरिने जानकारी उनले दिएका छन् ।
त्यस्तै, छलफलपछि नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले विधेयकका सन्दर्भमा सरकारसँग भएको सहमति लगायतमा छलफल भएको बताइन् । उनले राहत शिक्षकहरूको मागमा पनि गम्भीर हुन आग्रह गरेको र आफूहरूले राहत शिक्षकको जायज माग पूरा गर्नुपर्नेमा जोड दिएको बताइन् ।
यता राहत शिक्षक समितिका अध्यक्ष खेमराज अधिकारीले आफूहरूको मागलाई महासंघले नै वेवास्ता गरेको बताए । उनले आफूहरूलाई सरकारले वार्तामा बोलाउन खोज्दा महासंघले बिचौलियाजस्तो भूमिका निर्वाह गरेको आरोप लगाए ।
विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले यही असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौँ केन्द्रित सडकमा आन्दोलन गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छ बुँदे सहमति भएको थियो । तर, आफूहरूको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरू भने अहिले पनि आन्दोलनमै छन् ।
उक्त विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको थियो ।













प्रतिक्रिया