
काठमाडौं, ९ असोज । नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन् ।
बिहान ७ः३० बजेबाट कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु हुने भनिएको बन्दसत्र करिब दुई घण्टा बढी समय नाघिसक्दा पनि बन्दसत्र सुरु हुन सकेको छैन् ।
अधिवेशनका प्रतिनिधिहरु बन्दसत्र परिसर आइपुगे पनि बन्दसत्रको कार्यक्रम सुरु भएको छैन् । बन्दसत्र हल भित्र प्रवेशका लागि कार्डहरु वितरण भइरहेकाले बन्दसत्र सुरु हुन अझै करिब एक घण्टा लाग्ने बताइएको छ ।
यता, बन्दसत्र सुरु हुन नसक्दा नेताहरु उम्मेदवारी घोषणा गर्दै मत माग्नतर्फ लागेका छन् ।
हिजो सोमबार दिउँसो उद्घाटन सत्र समापन पछि अबेर रातीसम्म चलेको सहमतिको प्रयास सफल हुन नसकेपछि नेताहरु उम्मेदवारी घोषणा गर्दै मत माग्न सुरु गरेका हुन् । नेताहरुले बन्दसत्र परिसर र सामाजिक सञ्जालमा लेख्दै मत माग्न थालेका छन् ।
यसैबीच, चितवनका दावा दोर्जे लामाले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । बागमती प्रदेशका पूर्वकृषि मन्त्री समेत रहेका चितवनका पुराना एमाले नेता लामाले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । उनी हाल एमाले बागमती प्रदेशको सचिवालय सदस्य समेत हुन् ।
अधिवेशनमा प्रदेशभरबाट एक हजार १३८ जना प्रतिनिधि सहभागि रहेका छन् । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित दुई सय ४० सदस्यीय कमिटी निर्वाचित गर्नेछ ।
नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास भइरहेको बताइएको छ । बन्दसत्र समाप्त भएपछि आजै निर्वाचनको कार्यक्रम सुरू हुने बताइएको छ ।
प्रदेश अध्यक्षका लागि वर्तमान प्रदेश अध्यक्ष नुवाकोटका केशवराज पाण्डे, केन्द्रीय सदस्यसहरु रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, दोलखाकी रचना खड्का, बागमती प्रदेश सभाका पूर्वसभामुख काठमाडौंका सानुकुमार श्रेष्ठ आकांक्षी देखिएका छन् ।











प्रतिक्रिया