
काठमाडौं, ८ असोज । सत्तारुढ दल नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारको कामप्रति असन्तुष्टि जनाएको छ ।
गत बिहीबार सुरू भएर आज सम्पन्न भएको कांग्रेस केन्द्रीय समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले जनसवालका विषयदेखि शान्ति सुरक्षासम्मका विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।
बैठकले महङ्गी र कालाबजारी नियन्त्रण, आर्थिक मितव्ययिता, आवश्यक कानुन निर्माण र शान्ति सुरक्षाका विषयमा प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको कांग्रेस प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । मुलुक आर्थिक समस्यामा रहेका बेला आर्थिक मितव्ययिता अपनाउने कुरामा कांग्रेस गम्भीर रहेकाले तीनै तहका सरकारले अनावश्यक संरचना निर्माण नगर्ने र गरेको खण्डमा कांग्रेसले संलग्नता नजनाउने बैठकको निर्णय छ ।
त्यस्तै, संविधान जारी भएको आठ वर्ष पुग्दा पनि आवश्यक कानुन निर्माण नहुँदा तीनै तहका सरकार अन्यौलमा रहेकाले तत्काल कानुन निर्माण गर्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ भने कांग्रेस नेतामाथि भएको आक्रमणले सरकारको शान्ति सुरक्षामा नै प्रश्न खडा भएकाले जनतालाई सुरक्षाको अनुभूति हुनेगरी शान्ति सुव्यवस्था चुस्त दुरुस्त राख्न सरकारको ध्यानाकर्षण गराएको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।
त्यस्तै, बैठकले शिक्षक संगठनसँग भएको वार्ताको स्वागत गर्दै सहमति भएअनुसारको कानुन निर्माण गर्न सदनबाट आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । बैठकले आसन्न महासमिति बैठकलाई सम्पन्न गर्न तीन वटा समिति गठन गर्ने निर्णय गरिएको विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति, सहमहामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति, महामन्त्री गगन थापाको संयोजकत्वमा प्रतिवेदन तयारी समिति र महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समासामयिक राजनीतिक प्रतिवेदन समिति गठन गरिएको छ ।
बैठकले पार्टीले गरेका बिभिन्न गरेका कार्यक्रमहरुले पार्टीलाई बलियो बनाएको निष्कर्ष निकालेको छ ।













प्रतिक्रिया