२९ आश्विन २०८३, बिहिबार

पशुपतिबाट मोटरसाइकल चोरेर भागेका धनबहादुर कमलपोखरीबाट पक्राउ

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । मोटरसाइकल चोरीमा संलग्न एक जनालाई सोमबार ट्राफिक प्रहरीले काठमाडौंको कमलपोखरीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका–१ का ३४ वर्षीय धनबहादुर वाइबा छन् ।

उनले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ११ का छविलाल घिमिरेको बागमती प्रदेश ०२–०२३ प ६२ ४९ नम्बरको २०० सीसीको एनएस पल्सर मोटरसाइकल चोरेका थिए ।

२०७९ चैत ६ गते पशुपति मन्दिर नजिकैबाट उक्त मोटरसाइकल हराएको भनी घिमिरेले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । सोही निवेदनको आधारमा प्रहरीले खोजतलास गर्दा आज मोटरसाइकलसहित वाइबा पक्राउ परेका हुन् ।

वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०३० प ३५ ७५ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता ईकाइबाट खटिएको टोलीले वाइबालाई मोटरसाइकलसहित फेला पारी कमलपोखरीबाट आज दिउँसो नियन्त्रणमा लिएको हो । लामालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने पनि उनले जानकारी दिएका छन् ।